दाङ– विद्यार्थीहरुमा उत्सुकता थपिँदै गयो। रङ्गी विरङ्गी खपेटा लगाएका कलाकारहरु नाटक मञ्चन गर्न उत्रिए। हल्ला गरिरहेकाहरु शान्त भए।राजा र किसानको कथा मञ्चन हुँदै गयो, तब सहभागीहरुमा पुराना कला संस्कृतिको संरक्षणको आवश्यकता महसुस हुँदै गयो।विद्यार्थी मात्रै थिएनन्। अभिभावक र शिक्षकहरु पनि कथामा डुब्दै गए। वनगाउँको बालजनता माध्यमिक विद्यालयमा ‘बुधनी’ लोक कथा नाटकीय शैलीमा प्रदर्शन गरियो। शनिवार पनि यो नाटक यही विद्यालयमा प्रदर्शन गरिने छ। चार दिन विभिन्न शैक्षिक कार्यक्रमहरु गरिदै छ।
‘बुधनी’ थारु किसानको छोरीको नाम हो। ‘बुधनी’को अर्थ वुद्धिमान छोरी। थारु समुदायमा छोरीलाई विद्यालयमा पढ्न नपठाएर कुनै समय मालिकको घरमा कमलहरी बस्न लगाइन्थ्यो। यिनै छोरी बुद्धिमान हुन्छन् र उनिहरुलाई विद्यालयमा पढ्न पठाउनुपर्छ भन्ने सन्देश दिन साहित्यकार कृष्णराज सर्वाहारीले २०६० सालमा लोक कथा‘बुधनी’को संकलन गरे।
‘राजाले किसानलाई अनेक तिगड्म गरेर फसाउन खोजेको हुन्छ तर, राजाको चंगुलवाट किसान अर्थात आफ्नो बुवालाई बचाउन अनेकौं विकल्पहरुको खोजी गरेर छोरी‘बुधनी’ बचाउन सफल हुन्छिन्। यही सार कथामा छ,’ सर्वहारीले भने, ‘छोरीहरु वुद्धिमान हुन्छन्। उनीहरुको कुराहरु सुन्नु पर्छ भन्ने सन्देश छ।’
एक्टर्स स्टुडियोका कलाकारहरुले थारु लोक कथामा आधारित नाटक‘बुधनी’ मञ्चन गरेका हुन्। यो नाटकको निर्देशन अनुप बरालले गरेका छन्। विद्यालयमा कविता, नाच, चित्रकला तथा अन्य कलाको विविध कार्यशालाहरु साथै पुस्तक पठन कार्यक्रम हुने बुक बसका कार्यक्रम संयोजक युक्ता बज्राचार्यले जानकारी दिइन्। अमेरिकी दूतावासको बुक बस र सृजनालयले संयुक्त रुपमा नाटकको मञ्चन र शैक्षिक कार्यक्रम गर्न थालेका हुन्। सृजनालयका प्रशिक्षकहरुले नाच र चित्रकलाको कार्यशाला, कविताको समूह, वर्ड वरियरसँगको सहकार्यमा बुक बसले कविताको कार्यशाला गर्ने छ।
यसमा बोलीचालीको भाषामा कविता लेख्न र कवितामा आफ्नो ब्यक्तिगत कथालाई उतार्न सिकाइने छ। यस्तै काठमाडौँ विश्व विद्यालयको सेन्टर अफ आर्ट एण्ड डिजाईनसँगको सहकार्यमा चित्रकारहरुले भित्तेचित्र यात्रा, एउटा स्थानमा तयार भएको चित्रलाई अर्काे स्थानमा बनाइ प्रस्तुत गरिने छ। शिक्षा फाउण्डेसनसँग सहकार्य गरेर सृजनालयले कला शिक्षा, स्था’नीय कला र संस्कृतिको प्रवद्र्धनको लागि ‘आर्ट वर्कस्! संगै खेलौं’ नामक कार्यक्रम गर्दै आएको हो।
source:-deshsanchar.com