चितवन(कालिका):= स्थानीय आदिवासी जनजातिलाई लक्षित गरेर कालिका नगरपालिकामा आयोजना गरिएको सातदिने क्षमता अभिवृद्धि मूलक उद्घोषण तालिम सकिएको छ । कालिका नगरपालिकाको वडा नं. ६ र ७ का स्थानीय आदिवासी जनजाति समुदायलाई लक्षित गरेर तालिम आयोजना गरिएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै वडा नं. ६ का अध्यक्ष विनोद रेग्मीले क्षमता अभिवृद्धि नभए सम्म आदिवासी जनजाति समुदायको विकास हुन नसक्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडा अध्यक्ष रेग्मीले नेतृत्वकारी भूमिकामा आउन आदिवासी जनजातिलाई यो खालको बोल्नेकलाको विकासले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सन्तकुमार चौधरी, नेपाल आदिवासी जनजाति महासंघ चितवनका सचिव महेन्द्र दुरा लगायतले बोल्नुभएको थियो ।
आदिवासी जनजातिहरुको अवस्था, आदिवासी जनजाति सम्बन्धि भएको अन्तराष्ट्रिय सन्धी लगायत माइन्यूट लेखन सँगै उद्घोषण कला सम्बन्धि प्रशिक्षण दिइएको थियो । नेपाल आदिवासी जनजाति महासंघ कालिका नगरपालिका समन्वय परिषदले आयोजना गरेको तालिममा फोनिज चितवनका निवर्तमान अध्यक्ष सन्तकुमार चौधरी, पत्रकार महासंघ चितवनका केन्द्रीय पार्षद शिशिर सिंखडा, तामाङ संचार समुह चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ, रिपोर्टस क्लब चितवनका अध्यक्ष राजु चौधरी, नागरिक दैनिक चितवनकी संवाददाता सविता श्रेष्ठ, कालिका एफएमकी सविता दराई सँगै नेपाल आदिवासी जनजाति महासंघ चितवनका सचिव महेन्द्र दुराले तालिमको सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रम नगर समन्वय परिषदका अध्यक्ष होमवहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको हो । यसैबीच वडा नं. ३ मा आयोजना गरिएको सातदिने क्षमता अभिवृद्धि मूलक उद्घोषण तालिम भोली एक कार्यक्रमका बीच समापन हुँदैछ ।