राजीनामा माग्दा कड्किए प्रदेश २ का मुख्यमन्त्री राउत/संसदबाट विरोध गर्ने ओलीलाई काउन्टर

Tuesday, 15 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:= प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा भएको विभेदबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु बोलेको कुरा सहि भएको तर्क गरेका छन्। संसदबाट विरोध जनाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत काउन्टर दिँदै मुख्यमन्त्री राउतले आफ्नो सम्बोधनको बचाउँ गरेका हुन्। मोदीका अगाडि देशको आन्तरिक कुरा गरेर देशको स्वाधिनता र सार्वभौमताको धज्जी उडाएको भन्दै आफ्नो चर्काे आलोचना भइरहेका बेला मुख्यमन्त्री राउतले आफूले जनताको कुरा बोलेको प्रष्टिकरण समेत दिए।
भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण राउत विवादमा तानिएका छन् । वैशाख २८ गते वाह्रविघामा आयोजित अभिनन्दन कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने क्रममा मुख्यमन्त्री राउतले राज्यको विभेदकारी नीतिका कारण मधेश पछाडि परेको अभिव्यक्ति दिएका थिए । मुख्यमन्त्री जस्तो व्यक्तिले विदेशी पाहुनाको सामुन्ने त्यस्तो अभिव्यक्ति दिन नहुने धारणाहरु आइरहेका छन् । उनै राउतसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ:-
तपाईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु व्यक्त गरेको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी ओलीलेसमेत कटाक्ष गर्नुभयो । के भन्नुहुन्छ ?
प्रधानमन्त्री ओलीले के भन्नुभयो मलाई थाहा छैन । तर मैले मधेशी दलहरुले उठाउँदै आएका मुद्दाहरुलाई प्रस्तुत गरेको हुँ । मधेश केन्द्रित दलहरुले अहिले पनि मुलुकका उत्पिडित, जनजाती, दलितसहित सदियौँदेखि उपेक्षामा रहेका जनताको पक्षमा बोल्दै आएको छ । मैले पनि त्यही कुरा गरेको हुँ ।
यो कुरा त सबै नेपालीलाई थाहा छ नि । मोदीलाई किन सुनाउनुपर्यो?
मैले उठाएको कुरा नयाँ हो र ? नयाँ कुरा त होइन नि । लामो समय अघिदेखि भन्दै आएका छौँ नि ।
तर अहिले त तपाई प्रदेश नम्बर दुईको मुख्यमन्त्री हो । फोरमको नेताको हैसियतले किन बोल्नुभयो ?
यहाँका जनताको चाहना र भावनाअनुसार मुख्यमन्त्री बोल्ने कि नबोल्ने ? मुलुकका उत्पिडित, जनजाती, दलितसहित सदियौँदेखि उपेक्षामा रहेका जनताले अझै पनि अपनत्व ग्रहण गर्न सकेका छैनन् । संविधानले नै अपनत्व गराउन नसकेकाले कुरा राखेको हुँ ।
कमजोरी र समस्या त छ, तर ति समस्या मोदीलाई किन भन्नुपर्यो ? यसले त देशको बेइज्जत हुन्छ नि ?
यो कुरा दुनियाँको सामु भन्दै आएको हो । सबैलाई थाहा छ । यसले देशको बेइज्जत गरेको होइन । करोडौँ जनताको भावनालाई मञ्चमा राखेर बताउनु खोजेको हुँ । अहिले पनि संविधानमा रहेका त्रुटीमा सच्याएर मात्रै देशको भलो हुन्छ ।
संविधानमा भएका त्रुटी सच्याउनुपर्छ । तर मुख्यमन्त्रीजस्तो व्यक्तिले विभेदकारी कुरा गर्न मिल्छ ?
यो कुरा त नयाँ होइन । पुरानै कुराको निरन्तरता हो । यस प्रदेशका जनताको भावना र चाहनाअनुसार कुरा राख्नु त मेरो कर्तव्य हो । यो एजेण्डा भनेको कुनै पार्टीको होइन । जनताको एजेण्डा हो । संविधानलाई सबैले अपनत्व गर्ने एजेण्डा हो । नागरिकलाई भेदभाव गरेर बनेको संविधान सबैको हुनै सक्दैन ।
तर संविधानलाई त तपाईहरुले पनि स्विकार गरिसक्नुभयो । संविधान संशोधनको प्रस्ताव त बेमौसमको बाजा भइसक्यो नि ?
संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिकता हामीले स्विकार गरेका छौँ । तर पनि यो संविधान सबैको संविधान बन्न सकेको छैन । जुन कुरा मैले उठाएको छु, त्यो कुरा अहिले पनि जहाँ पनि भन्न तयार छु । संविधानलाई सबैको अपनत्व गराउनु छ भने संविधान संशोधन अपरिहार्य छ ।
तर अहिले संविधान संशोधन गर्न प्रधानमन्त्री तयार हुनुहुन्न । एमाले र माओवादी संशोधनका लागि तयार छैन । कसरी संविधान संशोधन हुन्छ ?
तपाईले सत्य कुरालाई दबाएर सक्नुहुन्न । केही समयका लागि बहुमतले दबाउन सकिएला । झुटो कुरालाई पनि साँचो बनाउन सकिएला । तर झुटो कुरालाई सधैँभरी साँचो बनाउन सक्नुहुन्न । यो कुरा सबैले बुझ्नुपर्छ ।
नेपालको संविधानलाई त भारतले पनि मानिसक्यो । मोदीलाई यो कुरा सुनाएर के हुन्छ त अब ?
सबै जनताले समान अधिकार प्राप्त गर्न सकेका छैनन् । यो कुरा सबैलाई थाहा छ ।
तर नेपालको संविधान त उत्कृष्ट संविधान हो नि ?
संविधान त ४७ सालको पनि उत्कृष्ट नै थियो नि । तर समाप्त भयो नि । अहिलेको संविधानलाई पनि जनताको चाहनाअनुसार करेक्सन गर्नुपर्छ ।
यही संविधानअनुसार तपाई मुख्यमन्त्री बन्नुभएको होइन ?
विना तागतको मुख्यमन्त्री छु ।
उसोभए तपाई राजिनामा दिनुहुन्छ ?
किन राजिनामा दिने ? तपाईले भनेर राजिनामा दिने हो र ? मैले त लाखौँ जनताको माझमा आफ्नो कुरा राखेको हुँ । लाखौँ जनताले ताली बजाएको सुन्नुभएन ? मधेशका सम्पूर्ण उत्पिडित समुदायले मेरो कुरा सुनेर ताली बजाएका छन् । मैले सही भनेँ वा गलत भन्ने कुरा जनताले मूल्याङ्कन गरेका छन् ।
तपाईले भारतका प्रधानमन्त्री मोदीलाई अगाडि राखेर प्रदेश नम्बर दुईका जनता गरिब छन्, अशिक्षित छन् भन्न मिल्छ ?
गरिब र अशिक्षित कसले बनाएको ? शाषन सत्तामा मुट्ठीभर समुदाय बस्ने अनि आरोप अरुलाई लगाउने ? तपाई मलाई बढी बोल्न नलगाउनुस् ।
तपाई त मुख्यमन्त्री हो नि । मर्यादा राख्नुपर्दैन ?
अनि मैले केही भन्न नपाउने ? मुख्यमन्त्री भएपछि जनताको चाहना र भावनाअनुसार बोल्नु परेन । नत्र त मेरो कुर्सी गइहाल्छ त ।
त्यसोभए मोदीलाई सुनाएर के पाउनुभयो त ?
मैले मोदीलाई सुनाएको होइन, दुनियाँलाई सुनाएको हुँ । यो देशका शाषक जातिलाई सुनाएको हुँ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu