राना थारु समुदायको पहिलो डाक्टर:-यज्ञवती राना बारे लिङ्क क्लिक गरि पढ्नुहोस

Tuesday, 12 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सहकर्मी,,
धनगढी;= ‘छोरी मान्छेको जात ! अर्काको घरमा जाने । पढाएर के गर्छौ ?’ छ जना छोरीहरुकी आमा । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँकी मालामती राना थारुले छोरी पढाउँदा यस्ता प्रश्नै प्रश्नको सामना गर्नुप¥यो ।गाउँका बुढापाका, छरछिमेकले छोरी पढाउनुहुन्न भन्दै भड्काउन खोजे । सम्पत्ति सकाएर पढाएमा भोलीका दिन अलपत्र हुन्छौ भन्दै उनीहरुले तर्साए पनि । तर, मालामतीले यी कुराहरुको वास्ता गरिनन् । विविध अडचनका बावजुद छोरी पढाउनबाट पछि नहटेको उनको परिवारले अहिले एमबीबीएस महिला डाक्टर उत्पादन गर्न सफल भएको छ ।
परिवारको काइली छोरी डा. यज्ञवती राना थारुले नेपालको इतिहासमा राना थारु समुदायबाट एमबीबीएस गर्ने पहिलो व्यक्ति बनेर छोरीहरु कमजोर नरहेको सावित गरेकी छिन् । उनले बङ्गलादेश स्थित ढाका युनभर्सिटी (डीयु) बाट सम्बन्धन प्राप्त कुमुदी वुमन्स मेडिकल कलेजबाट सन २०१८ मा एमबीबीएस पास गरेकी हुन । यज्ञवतीले एमबीबीएस पास गरेपछि मालामतीको परिवारका सदस्यहरुको छाती चौडा भएको छ । उनीहरु खुशीले गद्गद् छन् ।विभिन्न अडचनका बावजुद छोरीले एमबीबीएस पास गर्दा खुशीको सीमा नै नरहेको मालामतीले बताइन् । ‘जग्गा जमिन बेचेर छोरी नपढाऊ भनेर खुट्टा तान्ने प्रयास धेरैले गरे । छोरी पढाउनकै लागि मैले पनि थुप्रै सङ्घर्ष गर्नु प¥यो’, भावुक हुँदै उनले भनिन्–‘तर, हामीले पैतृक सम्पत्तीको लोभ गरेनौं । बच्चाको भविष्य हे¥यौं । अहिले हाम्रोसामू आएको नतिजाले गद्गद् बनाएको छ ।’
शिक्षामा अझै पनि निकै तल रहेको राना थारु समुदायमा स्नातकोत्तर गरेका व्यक्ति औंलामा गिन्ती गर्न सकिने छन् । एमबीबीएस कसैले गरेकै थिएनन् । जग्गा जमिन बेचेर भोज भतेरमा रमाउने बढी छन् । तर, बालबच्चा पढाउनु पर्छ भन्ने चेत कमैलाई छ । सकारात्मक भन्दा नकारात्मक पक्षतर्फ बढी ध्यान केन्द्रित गर्ने समुदायको दलदलबाट निस्केर फक्रेको फूल हुन डा. यज्ञवती ।यद्यपि, उनलाई एमबीबीएस पढाउन अभिभावकलाई फलामको चिउरा चपाउनु जस्तै थियो । ३३ हजार नौ सय अमेरिकी डलर (नेरु ३६ लाख २७ हजार) कलेज शुःल्कमात्रै थियो । विदेशमा खान, बस्न गरेर झण्डै ५० लाख रुपिया जोहो गर्नु पर्ने थियो । ‘छोरीले एमबीबीएस पढ्ने इच्छा व्यक्त गरेपछि उसलाई पढाउन पैतृक सम्पत्ति बेच्नु बाहेक केहि उपाय थिएन’, यज्ञवतीका बुवा भज्जीले भने–‘मैले मनहेरामा रहेको एक बिघा ५ कट्ठा जग्गा बेचेर उसको पढाई खर्च ब्यहोरे । राम्ररी पढेर हामी सबैलाई गौरवान्वित बनाईन् ।’पैतृक सम्पत्ति भन्दा बच्चाहरुको भविष्य ठूलो भएको ठान्दै अचल सम्पत्ति बेचेर छोरी पढाएको उनले बताए । सात कक्षासम्ममात्रै अध्ययन गरेको भज्जीले अगाडि भने–‘म १३ वर्षको हुँदा बुवा बित्नुभयो । परिवारको जिम्मेवारी आएपछि मैले पढ्न पाएन । आफू नपढेकाले जायजेथा बेचेर छोरीहरु पढाएको हुँ ।’
यज्ञवतीको डाक्टर बन्ने सपना सानैदेखिको थियो । तिम्रो लक्ष्य के हो, भनेर कसैले सोध्ने बित्तिकै उनको जवाफ हुन्थ्यौ, ‘डाक्टर बन्नु’ । त्यहि सपनाले ओतप्रोत उनले पढाईमा मिहिनेत गर्न कुनै कसर बाँकी राखिनन् । ‘मैले देखेको सपना पूरा गर्नको लागि धेरै मिहिनेत गरें’, डा. यज्ञवतीले भनिन्–‘अभिभावले सपोर्ट गर्नुभयो । र, त आज सपना पूरा भएको छ ।’ राना थारु समुदायबाट एमबीबीएस गर्ने पहिलो व्यक्ति हुन पाएकोमा आफूलाई असाध्यै खुशी लागेको उनले बताइन्।२०६७ सालमा काठमाण्डौंको बेबिलोन नेशनल स्कुलबाट प्रथम श्रेणीमा एसएसली पास गरेकी यज्ञवतीले विज्ञान विषय (जीवशास्त्र) लिएर पेन्टागन कलेजमा इन्टर पढिन् । ६२ प्रतिशत अङ्क प्राप्त गरेर इन्टर पास गरेपछि परिवारले इञ्जिनीयरिङ पढ्नका लागि काठमाण्डौंकै एक कलेजमा भर्ना गरि दिए । तर, उहाँले आफ्नो इच्छा एमबीबीएस पढ्ने रहेको सुनाइन् । ‘आमाबुवा राजी भएपछि नेपालमै एमबीबीएस पढ्न खोंजें’, डा. यज्ञवतीले अगाडि थपिन्–‘तर, नाम निकाल्न सकिन । पछि साथीहरुको सल्लाहमा बङ्गलादेश गएँ ।’
यसअघि, उनले धनगढीको फ्रि विल स्कुल, एरिष्टो र एलाइन्स स्कुलमा विभिन्न कक्षा गरी निम्न माध्यमिक तहसम्म अध्ययन गरेकी थिइन् ।
यज्ञवतीले एक वर्षको ‘इन्टर्न’ पछि नेपालमै काम गर्ने बताइन् । उनले भविष्यमा ‘डर्माटोलोजिष्ट’ बन्ने चाहना रहेको उल्लेख गरिन् । उनले आजको आवश्यकता शिक्षा रहेकोले सन्तानको इच्छानुसार पढाउन समेत सबैलाई आग्रह गरेकी छिन् ।
मालमाती र भज्जीका छ छोरी र एक छोरा गरी सात सन्तान छन् । छोरा बाहेक छ जना छोरीको शैक्षिक योग्यता गर्व गर्न लायक छ । जेठी छोरी सञ्जनाले एचए पढेकी छिन् । माइली छोरी सोनिया समाजशास्त्रमा स्नातकोत्तर, साइली छोरी हिरा एमबीए गरेर जागिरे भएकी छिन् । काइली यज्ञवती एमबीबीएस, काइली पछिको रेखा सिभिल इञ्जिनीयरिङ गरेकी छिन् भने कान्छी छोरी आयश्रेया राना इन्टर पास गरेर थेरापी डाक्टरको तयारी गर्दै छिन् ।सबैभन्दा कान्छो छोरा प्रज्वल कक्षा सातमा अध्ययन गरिरहेको मालामतीले बताइन् । ‘यी सबैलाई जग्गा बेचेर पढाएका छौं’ उनले भनिन् । छोरी पढाउनमा अब्बल मालामती राना थारु हाल प्रदेश नम्बर ७ मा प्रदेश सांसद छिन् । यसअघि, उनी पहिलो संविधान सभामा पनि सांसद भएकी थिइन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu