पूर्वकमलरी समीक्षा चौधरीको गायनमा छलाङ

Sunday, 2 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लखन चौधरी।धनगढी।

‘२ वर्षसम्म नेपालगञ्जस्थित पुनम राणाको घरमा दाजु सुरज चौधरी कमैया र म कमलरी भएर बसे । आफैंमा राम्ररी खेल्न नजान्ने मेरो लागि बच्चा खेलाउनु, भाँडा माझ्नु दिनचर्या थियो । सायद मैले कुटाइ नखाएको दिन बिरैलै थिए,’ गायिका समिक्षा चौधरीले आफ्नो बालापनलाई स्मरण गरिन् ।

अतिविपन्न कमैया परिवारमा उनी २०४८ साउन १० गते कैलालीको घोडाघोडी नगरपालिकाको कौहा भन्ने गाउँमा जन्मेकी थिइन् । उनका बुवा आइतवारी राम चौधरी जन्मजात कमैया थिए भने आमा फूलमाया देवी चौधरी बुक्रही थिइन् ।

कमैयामुक्ति पूर्वथारु समुदायका मानिसले जीविकोपार्जनको लागि जमिनदारको घरमा बाँधुवा मजदुर सरह कमैया, कमलरी र बुक्रही भएर काम गर्थे । हाल प्रथालाई नेपालको कानूनले बन्देज गरेको छ ।

उनी पनि घर परिवारको समस्या टार्न आफ्नो दाजुसँगै ८ वर्षको उमेरदेखि नै कमलरी बस्न बाध्य भएकी थिएन् । नेपालगञ्जमा मात्रै होइन, उनले भारत उत्तर प्रदेशको १ जमिनदारको घरमा समेत २ वर्ष कमलरी जीवन बिताइन् ।

तर, हाल समय फेरिएको छ । स्कूल जाने उमेरमा अर्काको घरमा कमलरी जीवन बिताएकी उनै समिक्षा आज गायन क्षेत्रमा छलाङ मारेकी छिन् । उनका हरेक गीत बृद्ध, बालबालिका, तन्नेरी सबैका ओठमा झुण्डिएको पाइन्छ ।

सुरिलो अनि मिठो स्वरकी धनी समिक्षा सबैको मन, मस्तिष्कमा डेरा जमाउन मात्रै सफल भएकी छैनन्, गायन पेशाबाट पनि राम्रो नाम र दाम कमाउन सकिन्छ भन्ने उदाहरण बन्न सफल भएकी छिन् । फलतः धेरैले उनलाई भारतकी मसहुर गायिका अल्का यागमिकको उपमा दिन समेत पछि पर्दैनन् ।

करीब २ सय गीतमा स्वर

विभिन्न सभा समारोह, महोत्वमा गीत गाउँदै हिँड्ने उनी औपचारिक रुपमा भने २०७१ सालदेखि गाउन थालेकी हुन् । उनले स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको श्रद्धाञ्जली सभामा सामूहिक श्रद्धाञ्जली गीतमा स्वर दिएर आफ्नो गायन क्षेत्रको दैलो उघारेकी हुन् । हालसम्म उनी थारु, नेपाली, भोेजपुरी भाषाको गरी १३ दर्जन बढी एल्बम, चलचित्र, फुटकर, सामूहिक गीत तथा कोरस गरी करीब २ सय गीतमा स्वर दिइसकेकी छिन् ।

गायनमै निकै व्यस्त रहेकी उनी हाल प्रत्येक महिनामा दर्जनौं गीतमा स्वर दिँदै आएकी छिन् । साउन महिनामा मात्रै २० वटा गीतमा स्वर दिएको उनी सुनाउँछिन् ।

टीकापुर बजार मे, टुहार बोली बा मोट्इल, आँखीम् चश्मा, सातो जुनीसम, मगमग महकठो, उकरुङ, भुक्रुङ, बनके दुहली, चुरिया गुरियालगायत उनका उर्चित गीत हुन् ।

परिवार नै संगीत शिक्षालय

अलि जिज्ञासु अनि गम्भीर स्वाभावकी समिक्षा बाल्य अवस्थादेखि नै गायनमा शौखिन थिइन् । उनका बुवा आइतवारी राम चौधरी र आमा फूलमाया चौधरी मोह्रिया र मोह्रिनिया अर्थात् नाचगानमा गीत गाउने मुख्य व्यक्ति हुन् । थारु समुदायमा मोह्रिया र मोह्रिनियाले नै विभिन्न नाचगानमा गाइने गीतहरूको उठान गर्छन् । आमा बुवालाई पछ्याउँदै उनी गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।

‘बुवा, आमासँगै घरमै ढमार, मागर, झुम्रा, सजनालगायत थारु लोकगीत गाउँथे । घरमा, स्कूलमा समेत सधै गुनगुनाइरहन्थे,’ उनले भनिन्, ‘स्कूलमा गुनगुनाउँदै पढ्दै गर्दा सर, म्याडम र साथीहरू भन्ने गर्थे, तिमी किताबको अभ्यास गर्दैछौं कि गीत लेख्दैछौं भनेर ।’

उसो त उनको गायन क्षेत्रमा ‘सुदूरपश्चिमको तारा’को उपमाले परिचित गायक योगेश भट्टको पनि ठूलो देन छ । योगेश भट्टले नै उनलाई म्युजिक ट्याकमा गीत गाउँ अभिपे्ररित गरे । पछिल्लो समय उनी थारु लोक महागायक मनिराम चौधरीको साथ सहयोग पनि पाउँदै आएकी उनी बताउँछिन् ।

‘गायन क्षेत्र महासागर हो’

गायन पेशालाई थप व्यावसायिक र मर्यादित बनाउन उनी संगीत साधनालाई उत्तिकै महत्त्व दिँदै आएकी छिन् । बेला–बेलामा संगीत कक्षा लिनुको साथै अभ्यास गर्दै आएकी छिन् । उनी काठमाडौंस्थित ‘शान्ति इन्टरटेन्मेन्ट’ संगीत शिक्षालयबाट ३ महिने संगीत कोर्स गरेकी छिन् ।

उनी भन्छिन्, ‘केही आधारभूत संगीत शिक्षा लिएपनि अपूर्ण छु । केही सिकिन्छ भनेर कक्षा शुरू गरे । तर, संगीत त महासागरै रहेछ । कहिलेकाहीँ संगीतको महासागरमा हराएझैं लाग्छ । यद्यमी साधनामा तल्लीन छु, संगीतभित्र पनि फरक पहिचान कसरी स्थापित गर्न सकिन्छ भन्ने मेरो उदेश्य हो ।’

पत्नीको गायनले पति छायाँमा

४ वर्ष कमलरी जीवनपछि उनी घर फर्किएर घोडाघोडी नगरपालिकास्थित विराट सनातन धर्म संस्कृत विद्यालयमा भर्ना भइन् । जहाँबाटै उनी कक्षा ९ सम्मको अध्ययन पूरा गरिन् । २०६९ सालमा लम्कीचुहा नगरपालिका–६ गुुलराका स्थानीय फेरु चौधरीसँग विवाह बन्धनमा बाँधिन पुगिन् । त्यहाँबाट नै उनी प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरिन् ।

गायिका समिक्षाका पति फेरु चौधरी कलाकार, उद्घोषक एवं शिक्षण पेशामा छन् । फेरु चौधरी मञ्चीय कार्यक्रमको उद्घोषण गर्थे भने समिक्षा चौधरी त्यही मञ्चबाटै गीत गाउने गर्थिन् । त्यही मञ्च नै उनीहरूको मिलन बिन्दु हो । मञ्चबाटै चिनजान अनि प्रेम सम्बन्ध र अन्ततः विवाह बन्धनमा बाँधिन पुगे ।

थारु चलचित्र भौंरा, टुटल जिन्दगी, सावन लगायतमा भूमिका निर्वाह गरिसकेका फेरु भन्छन्, ‘म एउटा कलाकर्मी हो । पहिला–पहिला समिक्षालाई फलानाको पत्नी भनेर चिन्थे । तर, आजभोलि फलानीको पति भनेर मलाई चिन्छन् । मलाई पनि लाग्छ, मेडमको बडिगार्ड त हो नि ! उनको मबाहेक को छ ? आधार भन्नु नै म हो,’ आफ्नो भावुकतालाई भंग गर्दै उनी भन्छन्, ‘यहाँसम्म पुर्याउन धेरै संघर्ष गरेका छौ । काँख छोरीलाई च्यापेर हरेक गीत रेकर्ड गराउन काठमाडौंसम्म लगेको छु । कहिलेकाहीँ लाग्छ छोरीको असली आमा त म पो हुँ ।’

नेसनल पावर न्यूज अवार्डबाट सम्मानित

कुनै बेला गाउँघर, खेतबारी, मेला महोत्सवमा गीत गाउँदै हिँड्ने उनै समिक्षा नेसनल पावर न्यूज अवार्ड २०७५ बाट सम्मानित भएकी छिन्। एउटी पूर्वकमलरीको पृष्ठभूमिबाट आएकी उनी संगीतको दुनियाँमा नयाँ ‘मिशाल’ कायम गर्न संघर्षरत छिन् ।

          (लोकतान्तरबाट साभार)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu