अविनाश चौधरी,,
धनगढी:=कैलाली धनगढी उपमहानगरपालिका–१४, फूलबारीस्थित डिपो बजारका एक युवाले घरको छतमा तरकारी खेती गरेर चर्चा बटुल्नु भएको छ । स्थानीय रामचन्द्र चौधरीले छतमा व्यावसायिक तरकारी खेती गरेर प्रशंसाको पात्र बन्नुभएको हो । उहाँले आफ्नो पाँच कोठे घरको छतमा काउली, बन्दा र टमाटरको खेती गर्नुभएको छ । प्रायः समय खाली रहने छतमा लोभलाग्दो तरकारी उत्पादन भएपछि उहाँ त दङ्ग हुनुहुन्छ नै । छतमा तयार भएको तरकारीको अवलोकन र प्रशंसा गर्नेसमेत बढेका छन् ।
मैले गरेको तरकारी खेती हेर्न टाढा–टाढाबाट मान्छे आउने गरेका छन्, चौधरीले अगाडि भन्नुभयो, उनीहरूले मेरो मिहिनेत र तरकारी खेती गर्ने यो तरिकाको कदर गर्ने गरेका छन् ।
फूलबारीमा रहेको कल्गी बचत तथा ऋण सहकारी संस्थामार्फत भारतको विभिन्न ठाउँमा तरकारी खेतीको अवलोकन र तरकारी खेतीबारे अन्तर्रा्ष्ट्रिय तालिम लिएपश्चात चौधरीले यो वर्षदेखि छतमा तरकारी खेती थाल्नुभएको हो ।
यसका लागि उहाँले सिमेन्ट राखेको पुरानो प्रयोगबिहीन बोरालाई प्रयोग गर्नुभएको छ । सिमेन्टको बोरामा जङ्गलबाट ल्याएको माटो भरेर तरकारी खेती गरेको चौधरीले सुनाउनुभयो । करिब १२÷१३ हजार लगानी गरेर मैले छतमा तरकारी खेतीको सुरुवात गरेको हुँ, उहाँले अगाडि थप्नुभयो, उत्पादन राम्रो भएपछि निकै खुसी छु ।
खेतबारीमा तरकारी खेती गर्नुभन्दा घरको छतमा सजिलो लागेको चौधरीले अनुभव सुनाउनुभयो । छतमा सिचाइँ, स्याहार गर्न सजिलो छ र बस्तुभाउले खाइदिने चिन्ता पनि छैन, उहाँले भन्नुभयो, जमिनभन्दा छतमै तरकारी खेती गर्न सजिलो लाग्यो ।
घरको छतमा तयार भएको तरकारी उहाँ बिक्री गर्ने तयारीमा पनि हुनुहुन्छ । पहिलो पटकको सबै तरकारी बिक्रीपछि दोस्रो पटक अझ व्यवस्थित गरेर तरकारी खेती गर्ने चौधरीले सुनाउनुभयो । अर्को पटक गमलामा तरकारी रोप्ने योजना बनाएको छुँ । ’ उहाँले भन्नुभयो ।
छतमा एकचोटी उत्पादित तरकारीबाट करिब २० हजार रुपियाँको कारोबार हुने अनुमान गरेको उहाँले बताउनुभएको छ । दोस्रो पटकको उत्पादनले मलाई नाफामात्रै हुनेछ, उहाँले भन्नुभयो ।
राजनीतिमा समेत सक्रिय चौधरी छरछिमेक र युवा पुस्तालाई कुनै व्यवसायमा प्रेरित गर्नका लागि आफू तरकारी खेतीमा अग्रसर भएको बताउनुहुन्छ । मुखले बोलेरभन्दा पनि काम गरेर देखाउँदा अरुले पत्याउन सजिलो हुने उहाँले उल्लेख गर्नुभयो । बेरोजगार युवालाई केही व्यवसाय गरेर आत्मनिर्भर हुनुस् भन्दा पत्याउँदैनन्, चौधरी भन्नुहुन्छ, त्यसैले आफूले गरेर उनीहरूलाई प्रेरित गर्नका लागि राजनीतिसँगै तरकारी खेती पनि शुरू गरेको हुँ ।
(गोरखापत्रबाट)
