कमल पन्थी/कान्तिपुर,,
बर्दिया:= माघ महिनामा थारू गाउँमा बडघर चयन गर्ने परम्परा छ । पछिल्ला दिनमा त्यस्ता थारू गाउँमा गैरथारू पनि नेतृत्वमा पुग्न थालेका छन् । ठाकुरबाबा नगरपालिका–५ वनकट्टीमा पहाडी समुदायका व्यक्ति ४ वर्षदेखि निर्विरोध बडघर चयन भइरहेका हुन् । रैथाने थारू र बसाइँसराइ गरेर आएका पहाडी समुदायको बसोबास रहेको यो गाउँमा ३५ वर्षीय तेजबन्धु लम्साल बडघर बनेका हुन् ।
बडघर लम्सालले आपसी सद्भावका कारण गाउँमा लगातार आफूलाई विश्वासको आधारमा बडघर चयन गर्दै आएको बताए । अगुवा जो कोहीले यो जिम्मेवारी बहन गर्न आँट गर्न नसक्ने भएकाले ४ वर्षदेखि थारू समुदायबाट आफू चयन हुँदै आएको उनको भनाइ छ । ‘समय दिन सक्ने र जिम्मेवारी बहन गर्नेले मात्र यो पद लिने गर्छन्,’ उनले भने, ‘त्यसैले मलाई जिम्मेवारी दिएका हुन् ।
बस्तीमा ६५ प्रतिशत थारू समुदायको बसोबास छ । परम्परा अनुसार थारू समुदायबाट बडघर राख्ने चलन छ । केही वर्षयता पहाडे समुदायबाट पनि बडघर चुनिन थालेका हुन् । स्थानीय अगुवा खुसीराम चौधरीले चार वर्षदेखि पडाडे समुदायलाई नेतृत्व दिनु आपसी सद्भावका रूपमा लिएको बताए । विगतमा राजा/रजौटा र जमिनदारले दबाएको गाउँमा पहाडे समुदायबाट सामन्ती प्रथा अन्त हुँदै गएको उनले बताए ।
थारू समुदायको नयाँ वर्षको सुरुवात अर्थात् माघे संक्रान्तिबाट लागू हुनेगरी बडघर चयन गर्नुपर्ने हुन्छ । चिराकी, चौकीदार, गुरुवा, लोहार, लुगा सिउने दमाईलगायत स्वयंसेवक पदमा पनि बडघरसँगै चयन भएका छन् । बडघरसँगै चौकीदार चयन भएपछि गाउँमा गुरुवा, धामी, कुलापानी चौधरीलगायत पदमा चयन भइसकेका छन् ।
थारू अगुवा चौधरीले परम्परागतदेखि देउता पुज्ने, चिराकीले प्रत्येक सोमबार शिवस्थलमा लिपपोत गर्ने जिम्मा लिने गरेका छन् । ‘वर्षमा तीन पटक पूजा गरिन्छ,’ उनले भने,’ खेती गर्नुअघि धुरिया, खेतमा बाली लगाएपछि हरेरी र अनाज भित्राउन अघि ल्वांगी पूजा गर्न गुरुवाको महत्त्वपूर्ण भूमिका हुन्छ ।’ पूजा गर्ने दिन गाउँमा माछा मार्ने, घाँस काट्नेलगायतका काम गर्न पाइँदैनथ्यो । अहिले सबैले यस्ता नियम छाडेको स्थानीय लछानी थारूले बताइन् । ‘पहिले गाउँघरमा ठूलाबडा र सरकारी कर्मचारी आए बडघरको घर बस्र्थे,’ लछानीले भनिन्,’ अहिले को आउँछन् जान्छन् थाहा हुँदैन ।’ उनका अनुसार जताततै सडक सुविधा, गाउँघरमा होटल भएका कारण बडघरको घर बस्न मान्दैनन् ।
स्थानीय ७० वर्षीय विश्राम थारू परम्परा धेरै फेरिएकोमा दु:खी छन् । कुलो खन्न जाँदा १२/१५ दिन लाग्ने गथ्र्यो । कुलो खन्ने काम नियमित श्रमदानका रूपमा थियो । ‘काम गर्दागर्दै छाड्दा जरिवाना तिर्ने चलन थियो,’ उनले भने,’ कुलो खन्दा रमाइलो पर्वजस्तो हुने गथ्र्यो, अहिले त्यस्तो हुँदैन ।, थारू समाजमा अगुवा प्रथा निकै पुरानो भए पनि निरन्तरता चलिरहेको छ ।’
अगुवाबाहेक पूजाआजा गर्ने पुजारी, कुलोपानी चौधरी, फलाम पिट्ने, चौकीदार, सुरहवा, धामी, दुलहा, दुलही बोक्ने र विवाह भोज आदिमा काम गर्ने यहाँ चयन गरिएको छ । गाउँमा थारू युवाले भने विवाह हुने घरमा सबै काम नि:शुल्क गर्ने गरेका छन् । गाउँमा हुने विवाहमा दुलहा/दुलहीको घर पात टिप्ने, दाउरा खोज्ने, मासु काट्ने, पानी बोक्ने र जन्ती आएकालाई खुवाउनेलगायत सबै काम सित्तैमा गर्ने गरेको बडघर लम्सालले बताए ।

