सांसदमा विजयी बनेर पनि हाल थुनामा रहेका रेशम चौधरीमाथि अन्याय भएको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । सप्तरीको कठौनास्थित आदिवासी जनजाति महासंघ सप्तरीको सभाहलमा शनिबार आयोजित रेशम चौधरी बचाऔँ अभियान नामक कार्यक्रमका सहभागी वक्ताहरुले यस्तो आरोप लगाएका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष एवम थारु नेता महेन्द्रप्रसाद चौधरीले सरकारले रेशम चौधरीमाथि अन्याय गरेको आरोप लगाए । थारु नेता सांसद चौधरीलाई विना अभियोग सरकारले थुनामा राखेर नश्लवादी चरित्र प्रदर्शन गरेको उनको भनाई थियो । सामाजिक न्याय र अधिकार प्राप्तिका लागि आन्दोलनको विकल्प नरहेको उनले जिकीर गरे ।
रेशम चौधरी वचाऔ अभियन्ता थारु नेतृ कल्पना चौधरीले सांसद चौधरीलाई न्याय दिलाउने पक्षमा समर्थन गर्न आग्रह गरिन् भने अर्का अभियन्ता महेश थारुले अन्यायविरुद्ध सबै उत्पीडित समुदाय गोलबद्ध हनुपर्नेमा जोड दिए ।
नेपाल आदिवासी जनजाति महसंघका अध्यक्ष वृजमान तामाङले थारु तथा आदिवासी जनजाति आन्दोलनका नाइके रेशम चौधरी बचाउ अभियान संचालन गरेकोमा धन्यवाद व्यक्त गरे । उनले रेशम चौधरी थारु भएकै कारण सरकारले भेदभाव गरेको आरोप लगाए ।
पुर्णप्रसाद चौधरीको अध्यक्षतामा आयाजित कार्यक्रममा ३१ सदस्यीय रेशम चौधरी बचाउ संघर्ष समिति सप्तरी समेत गठन भएको छ । समितिको संयोजकमा रामाकन्त चौधरी र सहसंयोजकमा कल्पना चौधरी रहेकी छिन् ।


