थारु बैज्ञानिक दाजु भाइ ,,
[आलु रोप्ने मेसिन, सोलार क्यामेरा जस्ता आविस्कारकलाई राज्य ले पत्याएनन, सेवाग्राहीको मन जित्दै]
लखन चौधरी ,,
धनगढी – पुस्तौंदेखि कृषिमै आश्रित कञ्चनपुरको बेलौरी नगरपालिका–२ गोकुलपुरको एक परिवारको पछिल्लो पुस्ताको जीवनशैली फेरिएको छ । नयाँ पुस्ताको दिनचर्या वैज्ञानिक आविष्कार तथा अध्ययनमा नै केन्द्रीत भएको हो ।
स्थानीय नन्दलाल रानाका छोरा राजु राना (३२), सतेन्द्र राना (२६) र नन्दलालका भाई मानबहादुर रानाका छोरा सुवाश राना (२४) को दिनचर्या यन्त्र उपकरणसँग बित्न थालेको छ । उनीहरू हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा इन्जिनियरिङ वर्कशप सञ्चालन गरी विभिन्न यन्त्र उपकरणको आविष्कारमा जुटेका छन् ।अविष्कारमा अगुवाई गरिरहेका राजु रानाको सानैदेखि यन्त्र उपकरणसँग लगाव थियो । उनी घरमा भएका साइकल, इन्जिनलगायत यन्त्र उपकरण चलाउने, खोल्ने र फिटिङ गर्ने गर्थे । पछि त्यही नशाले उनलाई विज्ञानको आविष्कारतर्फ धकेलेको छ ।
राजु भन्छन्, ‘मेरो लगाब नै फलामे औजार, यन्त्र, उपकरणसँग थियो । एसएलसी पास भएलगत्तै विज्ञान विषय नै रोजियो । विज्ञानका सैद्धान्तिक पक्षलाई प्रयोगात्मक रुप दिन जुटे ।’ धनगढीस्थित ऐश्वर्य विद्या निकेटनबाट आईएस्सी गरेका राजुले बीएस्सी भने महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसबाट गरेका छन् । सर्वप्रथम उनले सिद्धनाथमै अध्ययनताका २०६० सालमा कागजको क्यामेरा आविष्कार गरी फोटो खिचेर देखाएका थिए ।
‘त्यतिबेला रिल सिस्टमवाला क्यामेराको जमाना थियो । क्यामेराको लेन्सबाहेक अधिकांश उपकरणहरू मैले कागजको प्रयोगबाटै बनाए । रिल प्रयोग गरेपछि फोटो खिचे । रिल धुलाउन धनगढीको एक स्टुडियोमा पुगे । फोटो बन्यो कि बनेन भनेर मनमा निकै नै ढुकढुकी भयो,’ उनले क्यामेरा आविष्कारको अनुभव सुनाउँदै भने, ‘स्टुडियोवालालाई रिल दिएपछि उसले रिल धुन मानेन । उसले मेरो क्यामेरा हेर्न माग्यो, त्यसपछि क्यामेरा देखाएपछि त उसले सितैमा रिल नै धुल्यो ।’
पहिलो पटक धुलेको रिलमा खासै राम्रो फोटो नआएपछि पछि सुधार गरेर पुनः बनाउँदा राम्रो फोटो खिचेको उनी बताउँछन् । सौर्य ऊर्जाबाट चल्ने सो क्यामेरा क्याम्पसको संग्राहलयमा राखिएको छ ।
विज्ञान र गणितका फर्मुलालाई कसरी दैनिक जीवनसँग जोड्न सकिन्छ भनेर सधैं चिन्तन गर्ने उनी पढेका सैद्धान्तिक ज्ञानलाई घरमा प्रयोगमा उतार्न खोज्थे । त्यसैक्रममा उनले आफ्नै डिजाइनमा प्रोजेक्टर समेत बनाएको अनुभव सुनाउँछन् । तर सो प्रोजेक्टरले दृश्य देखाएपनि केही प्राविधिक त्रुटिले आवाज भने दिन नसकेको राजु बताउँछन् ।
तर राजुकै अनुशरण गर्दै आएका उनका भाइ सतेन्द्र रानाले सो प्रोजेक्टर सुधार गर्न सक्ने बताउँछन् । भारतको उत्तराखण्ड युनिभसिटीबाट बि–टेक इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेसन इन्जिनियरिङ अध्ययन पूरा गरेका उनले डिजिटल प्रविधि प्रयोग गरेर आफ्नै डिजाइनमा प्रोजेक्टर बनाउने सक्ने दावी गरे ।
आलु रोप्ने मेसिनले दिएको हन्डर र उचाइँ
आविष्कारकै क्रममा उनले १ वर्षको अथक प्रयासपछि २०७३ सालमा आलु रोप्ने मेसिन आविष्कार गरे । पावर टिलर र ठूलो ट्रेक्टरबाट चल्ने आफ्नै डिजाइनमा २ मोडलका आलु रोप्ने मेसिन बनाए ।
‘घर परिवारकै सहयोगमा मैले १ लाख खर्चेर आलु रोप्ने मेसिन बनाए । बनाउने क्रममा २ पटक त मैले असफल नै भए । तर तेस्रो पटकमा सफलता पाए,’ उत्साहका साथ उनले भने, ‘प्रयोगमा ल्यायो । मेला, महोत्सवमा प्रदर्शन समेत गरियो ।’ जुन आविष्कारले आफूलाई नववैज्ञानिकको रुपमा परिचित गराएको उनी सम्झिन्छन् ।
तर हाल सो मेसिनले बजार तथा राज्यको नजर नपर्दा खिया लागेर जीर्ण भइसकेको नववैज्ञानिक राजु बताउँछन् । ‘मैले बनाएको मेसिनबाट आधुनिक आलु खेती गर्न सकिन्छ । मेसिनबाटै एकै साथ प्रांगारिक र रासायनिक मल छर्केर आलुको बिउ रोप्न सकिन्छ । तर के गर्नु प्रयोगमा आएन । न त राज्यको नजर गयोे,’ क्षणभरमै उनले निराशा व्यक्त गरे ।
गत असोजदेखि ३ भाइ मिलेर इजिनियरिङ वर्कशप सञ्चालनमा ल्याएका छन् । जुन वर्कशपबाट आफ्नै डिजाइन प्रयोग गरी पावर टिलर मेसिनमा प्रयोग हुने विभिन्न उपकरण बनाउन थालेका छन् । जुन उत्पादनको बजार माग समेत उच्च भएको उनीहरू बताउँछन् ।
पावर टिलरमा प्रयोग हुने २ मोडेलका क्याच वील, खेतमा आली बनाउने मेसिन, राजा हल, बेन्डिङ मेसिन र साइड अर्क बेन्डिङ मेसिनले बजार पाउन थालेको छ ।
उनले भने, ‘केही वर्षको लगानी त्यतिकै अनुसन्धानमै खेर गयो । आजभोलि व्यावसायमुखी भएर काम थालेका छौं । हाल विभिन्न पावर टिलरका डिलरसँग सहकार्य गरेर उपकरण उत्पादन गर्दैछौं । चाइनाबाट आयात हुने उपकरणभन्दा सस्तोमा हामीले उत्पादन गर्न थालेपछि बजार पाउन थालेका छौं ।’
‘आयातीत उपकरण अनुदानमा वितरण गर्नु बेकार’
उत्पादित उपकरणले बजार पाउन थालेपछि उनीहरूले उद्योग दर्ताको प्रक्रिया समेत अगाडि बढाएका छन् । तर भविष्यमा आफ्नै डिजाइन रहने मेनुफ्क्याचर कम्पनी स्थापना गर्ने उनीहरूको सपना छ । तर राज्यको विज्ञान तथा प्रविधि क्षेत्रमा लगानी नभएको उनीहरूको गुनासो छ ।
राजु भन्छन्, ‘यहाँ समस्यासँगै सम्भावना प्रचुर छ । तर राज्यले बाहिर उत्पादित यन्त्र उपकरण यहाँ अनुदानमा वितरण गर्नु दुःखदायी छ । राज्यले लगानी गरेको भए त्यही गुणस्तरको उपकरण कम लागतमा हामी बनाउन सक्छौं । दाबाका साथ भन्छौं – हामी माग अनुसारको आफ्नै डिजाइनमा जुनसुकै यन्त्र उपकरण तयार पार्न सक्छौं ।’ राज्यबाट हालसम्म कुनै पनि सहयोग नपाएको उनीहरूको गुनासो छ ।
जागिरको मोह त्यागेका दाजुभाइ
हाल सतेन्द्र र सुवाश पूर्णरुपमा वर्कशपमै केन्द्रीत छन् । राजु भने कैलारी गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयमा विज्ञान शिक्षकको रुपमा कार्यरत छन् । तर अन्ततः आफूहरूको सपना अनुसन्धानमूलक कम्पनी स्थापना गर्ने रहेको जनाइएको छ ।
सतेन्द्र र सुवाश भन्छन्, ‘इन्जिनियर भइसकेपछि सरकारी जागिरको मोह कसलाई हुँदैन र ∕ लोक सेवाको तयारी गर्दैछौं । तर अन्ततः हामी सबैको सपना कम्पनी नै हो ।’
घरको जीविकोपार्जनको लागि शिक्षण पेशामा लागेको बताउने राजुले कम्पनीको सपनाले वैदेशिक रोजगारीको अवसर समेत त्यागेको बताउँछन् । ‘कोरियन ईपीएसमा छनौट भइसकेका थिए । पछि धेरै सोचे । स्वदेशमै केही गर्नुपर्छ भनेर पछि त्यो अवसर पनि त्यागे,’ उनले अगाडि थपे ।