सन्तकुमार चौधरी ,,
चितवन:= हामीले नगरे कस्ले गर्ने भन्दै कालिका ५ पदमपुरका थारु महिलाहरु आफ्नो गाउँ बनाउन जुटेका छन् । गाउँघरमा जम्मा हुने फोहोर व्यवस्थापन देखि आफ्नो गाउँलाई सुन्दर गाउँ बनाउन स्थानीय थारु महिलाहरु सक्रिय बनेर जुटेका छन् ।
आफ्नो गाउँ आफै बनाउन यहाँका थारु महिलाहरु संगठीत नै बनेर लागेका छन् । भीमवली थारु नारी महिला समुह नाम दिएर विगत एकवर्षदेखि आफ्नो गाँउ बनाउन सक्रिय बनेका हुन् । आइतवार एक कार्यक्रमको आयोजना गरी गाउँलाई फोहोर रहित गाउँ बनाउने उद्देश्यले सरसफाई अभियान समेत सुरु गरेका छन् । भीमवली थारु नारी समुहकी अध्यक्ष बालकुमारी महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कालिका नगरपालिकाकी उप प्रमुख कमला भट्टराईले आफ्नो गाउँ आफै बनाउन जुटेका थारु महिलाहरुको काम प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएकी उप प्रमुख भट्टराईले फोहोर रहित गाउँ बनाउन सके सिंगो देशलाई फाइदा पुग्ने बताउनुभयो । कार्यक्रममा कालिका वडा नं. ५ का वडा अध्यक्ष जिएन महतोले यो अभियानलाई अन्य वडाका महिलाहरुले पनि सिको गर्नुपर्ने बताउनुभयो । गाउँलाई फोहर रहित बनाउन गाउँमा प्लाष्टिक जन्य बस्तुलाई निषेध गर्नुपर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा कालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठले थारु महिलाहरुको सहभागीता र उपस्थितले आफुहरुलाई समेत काम गर्न हौसला मिल्दै गएको बताउनुभयो ।
आइतवार पहिलो चरणमा गाउँघरको मुख्य मुख्य बाटोहरु सँगै मठमन्दिर र सार्वजनिक स्थानमा फालिएका फोहोर र फोहोरजन्य बस्तुहरुलाई संकलन गरी त्यसलाई व्यवस्थापन गरेका छन् । आफ्नो गाउँ आफै बनाउँ भन्दै अन्य गाउँलेलाई समेत फोहोर व्यवस्थापनको बारेमा सचेत गराउँदै हिडेका छन्।
यो अभियानलाई निरन्तर रुपमा संचालन गरिने संस्थाका सल्लाहकार समेत रहनुभएका पूर्व पदमपुर गाविस अध्यक्ष जयचन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो । सरसफाई सँगै पूर्वाधार निर्माण देखि अन्य सामाजिक काममा समेत यहाँका थारु महिलाहरुले अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । आफुहरुले गर्न सक्ने कामपनि सरकारले नै गरिदेओस भन्ने मानसिकतालाई अन्त्य गर्दै आफुले सक्ने काम आफैबाट गर्नुपर्ने अवधारण अनुसार यहाँका थारु महिलाहरु आफ्नो गाउँ आफै बनाउँ भन्ने अभियानमा लागेका हुन । सरसफाई रहित गाउँ सँगै जुवातास रहित गाउँ बनाउने उनिहरुको अभियान छ ।