घोराही (दाङ):= कमलरी विषयवस्तुमा निर्माण गरिएको चलचित्र लावाजुनीको आगामी बैशाख २८ गते घोराहीमा विशेष प्रदर्शन हुने भएको छ ।ग्रामीण महिला उत्थान केन्द्रले सिकलसेल विरामीहरुको उपचार सहयोगार्थ लावाजुनीको विशेष शो गर्न लागिएको संस्थाका अध्यक्ष आशमानी चौधरीले बताउनु भयो । उहाँका अनुसार बैशाख २८ गते घोराहीको नीम चित्र मन्दिरमा बिहान ८ बजे लावाजुनी प्रदर्शन गरिनेछ ।
विशेष प्रदर्शनीमा विशिष्ट दर्शकहरुको लागि रु. ५ हजार र साधारण दर्शकहरुका लागि रु. १ हजार दरका टिकटको व्यवस्था गरिएको छ । सामाजिक एवं मानवसेवाका लागि विशेष प्रदर्शनको आयोजना गरिएको हुँदा सबैलाई सहयोग गरिदिनुहुन अध्यक्ष चौधरीले अनुरोध गर्नुभएको छ । ‘लावाजुनी एक चेतनामूलक सामाजिक चलचित्र भएको र विशेष प्रदर्शन सिकलसेल विरामीहरुको उपचार सहयोगार्थ भएको हुँदा सबैपक्षबाट उत्साहजनक सहयोग हुने कुरामा हामी विश्वस्त छौं ।’ अध्यक्ष चौधरीले भन्नु भयो ।
दाङमा मात्र सिकलसेलका विरामीहरु १ सय ६९ रहेको र उनीहरुको आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा उनीहरुको सहयोगका लागि या प्रदर्शन महत्वपूर्ण हुने संचारकर्मी एवं अभियन्ता संतोष अधिकारीले बताउनु भयो ।चलचित्र लावाजुनी संचारकर्मी केएल पीडितले निर्माण तथा निर्देशन गरेका हुन् भने कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् । केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र पाएको चलचित्र लावाजुनी निर्माताहरुमा रिना खड्का बस्नेत, संझना जीएम, बसन्तराज भट्ट र शारदा बिसी रहेका छन् ।
लावाजुनीमा छबिलाल कोपिला, ज्वाला देवकोटा, सुशीला चौधरी, अनिता महतारा, वर्षा लम्साल, सुप्रीया देवकोटा र निश्मा वलीको मुख्य भूमिका रहेको छ । चलचित्रमा संतोष श्रेष्ठको संगीत रहेको छ भने कोमल वली, कुलानन्द गिरी, सतिषराज भण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र यांशु श्रेष्ठले स्वर दिएका छन् ।
(साभार:-चेतना अनलाईनबाट)