महादेव चौधरी,,
सप्तरी := टीकापुर घटना छानविन आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगरे र प्रतिनिधिसभा सदस्य रेशम चौधरीसहित ११ जनालाई जेलमुक्त नगरेसम्म संसदमा हंगामा मचाउन र बजेट पास हुन नदिन राजपाका नेताहरुसंग आग्रह गरेको भन्दै थारुले अधिकारप्राप्तिका लागि आन्दोलनको विकल्प नरहेको बताए । ‘कांग्रेस र नेकपाले चाहे जस्तो हामी अब शहिद बन्ने खालको आन्दोलन चाहँदैनौँ शन्तिपूर्ण र सशक्त आन्दोलनको तयारीमा जुटेका छौ’- उनले भने । १२ वर्षको जनयुधमा ३ हजार थारुले ज्यान गुमाएको स्मरण गर्दै उनले भने, ‘बम बनाउन र पडकाउन हामीलाई पनि आउँछ तर हामी आतंकारी नभई बुद्धका सन्तान हौँ र नशा नशामा शान्ति छ । त्यसैले विनाशर्त हाम्रो माग सरकारले पुरा गर्नुपर्छ ।’
राज्यका प्रत्येक अङ्गमा थारुहरुको अर्थपूर्ण उपस्थितिको संवैधानिक व्यवस्था लागु गराउन थारु नेताहरु मिल्नुको विकल्प नरहेको थारु अगुवाहरुले बताएका छन् । रेशम थौधरी बचाउ अभियान सप्तरीद्वारा बुधबारदेखि जिल्लाको कञ्चनरुप नगरपालिका ७ स्थित वलुवामा शुरु भएको थारु राष्ट्रिय समेलन २०७६ को उद्घाटन समारोहमा सहभागी वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
पाँचबुँदे माग:
१) संविधान संशोधन
२) थरुहट प्रदेशको स्थापना
३) विभिन्न सरकारले थरुहटसँग गरेको सहमतिको कार्यान्वयन
४) टीकापुर घटना छानविन आयोगको प्रतिवेदनको सार्वजनिकीकरण र टीकापुर घटनापछि थारुहरुमाथि भएको हिंसा आग्जनी र बलात्कारमा संलग्नहरुउपर कारवाही
५) प्रतिनिधिसभा सदस्य रेशम चौधरीसहित ११ जनालाई जेलमुक्त
सम्मेलनको उद्घाटन गर्दै टीकापुर घटनामा संलग्न रहेको आरोपमा ४२ महिना जेल जीवन बिताएर थुनामुक्त भएका लक्ष्मण थारुले वर्तमान संविधान थारुहरुलाई स्वीकार्य नभएको भन्दै संविधानको ३५ बुँदामा संशोधन हुनुपर्ने आफुहरुको माग रहेको बताए । संविधानको धारा २०७४ ले संविधान संसोधनको व्यवस्थालाई जटिल बनाउनुका साथै प्रदेशको सीमाङ्कन फेर्न नसकिने रहेकाले धारा २७४ र अनुसुचि ५ को संसोधन आवश्यक रहेको प्रष्ट्याए ।
केपी ओलीको दादागिरी, उखान र टुक्का तथा कम्यूनिष्टहरुको अहंकारी र तानाशाही चरित्रले देश नबन्ने भन्दै उनले यो देश सीमित शासक जातिको मात्र नभई आफ्ना पुर्खाले पनि देश बनाउन योगदान गरेको दाबी गरे ।
सोही कार्यक्रममा कारागारबाट रेशम चौधरीले पठाएको शुभकामना सन्देश दाङका महेश थारुले पढेर सुनाएका थिए । उक्त सन्देशमा चौधरीले धेरै भोट पाएकै कारण आफु जेलमा कोचिनु परेको भन्दै छुट्टै देश माग्ने र छुट्टै राष्ट्रगान बजाउने सिके राउत राष्ट्रप्रेमी हुने तर यही देशका आदिवासी भनेर चिनिने हामी थारु कसरी अपराधी भयौँ भनी आक्रोश पोखेका छन् ।
जेलमा मान्छे थुनिन सक्छ तर विचार थुनिन सक्दैन, रेशम चौधरी व्यक्ति हो तर उसले उठाएको मुद्दा थारुहरुको भएको भन्दै उनले आफ्नो सन्देशमा तेजुलाल चौधरीबाहेक सबै पार्टीका सांसदहरु आ–आफ्नो पार्टीका दास भएको आरोप लगाएका छन् ।सोही कार्यक्रममा बोल्दै राजपाका महासचिव समेत रहेका आदिवासी जनजाती नेता राजकुमार लेखीले रेशम चौधरीलगायतको रिहाई आफुहरुले गराउने विश्वास दिलाउँदै भने, ‘आन्दोलन शुरु हुँदा आफैभित्र शंकाउपशंका शुरु हुन्छ, आन्दोलन मत्थर बनाउनेहरु नै आन्दोलनको शीर्षमा हुन्छन्, अब त्यस्ता तत्वको पहिचान गर्न जरुरी छ ।’
प्रदेशसभा सदस्य विदेश्वर यादवले थारु हक अधिकारविरुद्ध लाग्ने थारु नेताहरुलाई बहिष्कार गर्न आग्रह गर्दै थारुहरुको आन्दोलनमा मधेशी जनताको साथ र समर्थन रहने बताए ।
कैलाली घटनाकै आरोपमा पक्राउ परेर हालै जेलमुक्त भएका रामप्रसाद चौधरीले आफुहरुको आन्दोलन नसेलाएको भन्दै अखण्ड सुदुरपश्चिम र कर्णाली जस्तै थरुहट प्रदेश लिएरै छाड्ने दाबी गरे ।संघर्ष समितिका संयोजक रमाकान्त थारु (राज थारु)को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सांसाद चन्द्रकान्त चौधरी, संघर्ष समितिकी कल्पना चौधरी लगायतले सम्बोधन गरेका थिए । सम्मेलनमा झापा, मोरङ्ग, सुनसरी, सप्तरी, दाङ, कैलाली सहितका जिल्लाहरुवाट थारु अगुवाहरुको सहभागिता रहेको समितीका संयोजक रमाकान्त चौधरीले बताए । सम्मेलन शुक्रबारसम्म चल्ने छ ।