थारु समुदायको प्रख्यात परिकार "घोङ्घी" स्वास्थ्यको लागी फाईदाजनक ।

Wednesday, 25 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बाँके := घोङ्घी थारू जातिमा प्रचलित परिकार हो। तराई तथा भित्री तराईका तालतलैया, पोखरी र नदीमा पाइने  घोङ्घी थारू जातिमा तरकारीको रुपमा प्रयोग हुन्छ। झट्ट हेर्दा शंखेकिरा जस्तै देखिने भएकोले गैरथारूले यसलाई शंखे किरा भनेर चिन्दछन्।

थारू जातिले  घोङ्घीलाई आफ्नो खाद्य परिकारमा समावेश गरेको छ । थारू जातिले कहिलेदेखि  घोङ्घी खान थाले ठ्याक्कै भन्न सकिने अवस्था नरहेको थारू भाषा, साहित्य अन्वेषक अशोक थारू बताउँछन्। थारू समुदाय प्राकृतिक स्रोतनजिक भएको ठाउँमा बस्ने जाति हो। थारूहरू वनजंगल, नदी, पोखरी, तालतलैयाको छेउछाउ बस्न रुचाउने जाति भएकोले प्राकृतिक स्रोतबाट पाइने चिजवस्तुलाई खाद्यन्नको रुपमा प्रयोग गर्दै आएको पाइन्छ।

जहाँ पानीको अस्तित्व छ, त्यहाँ थारू समुदायले आफ्नो वासस्थान बताउँदै आएको पाइन्छ। अशोक थारू भन्छन्, ‘थारू जाति हरेक समय प्रकृतिमा निर्भर हुँदै आएकोले प्रकृतिको पूजा गर्ने परम्परा अहिले पनि विद्यमान छ।’ प्रकृतिसँग नजिक हुने क्रममा थारू जातिले पानीमा पाइने माछा र  घोङ्घीलाई आफ्नो खाद्य सामग्रीका रूपमा प्रयोग गरेको थारू संस्कृति र इतिहासका जानकार एकराज चौधरी बताउँछन्। ‘पानी पोखरी र तालतलैयाको नजिकै बस्ने भएकाले तरकारीका रूपमा थारू जातिले  घोङ्घी खान थालेको हुनुपर्छ,’ उनले भने।


सजिलै पाइन्छ :

सुरुमा  घोङ्घीलाई तरकारीका रूपमा मात्र प्रयोग गरिन्थ्यो। उपलब्धताका दृष्टिले पनि  घोङ्घी सजिलै पाइन्छ। माछा–मासु जस्तो किन्न पनि पर्दैन। फुर्सद हुनेबित्तिकै नजिकैको नदी वा तालमा गएर तुरुन्त ल्याउन सकिन्छ। ‘कृषि पेशामा निर्भर हुने र आर्थिक अवस्था कमजोर हुने भएकोले अधिकांश थारूले सर्वसुलभ रुपमा पाइने  घोङ्घीलाई खाद्यन्नको रुपमा प्रयोग गर्न थाले। विस्तारै  घोङ्घी थारू संस्कृतिको अंग बन्न पुग्यो,’ एकराजले भने।

स्वास्थ्यका लागि फाइदाजनक :

 घोङ्घी थारू जातिको मौलिक परिकारमध्ये एक हो। थारू जातिले प्राचीन कालदेखि नै  घोङ्घी खान थालेका हुन्। स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक छ।  घोङ्घीमा प्रोटिन र क्याल्सियमको मात्रा अत्यधिक पाइने भएकोले स्वास्थ्यका लागि राम्रो मानिन्छ।

पेटमा भएको विकारलाई सफाइ गर्ने भएकाले पनि  घोङ्घी स्वास्थ्यका लागि फाइदानजक रहेको उनी बताउँछन् ।  घोङ्घीका अरू धेरै फाइदा हुन सक्ने उनको भनाइ छ। ‘घोङ्घी खाएमा मानिसमा स्फूर्ति बढाउँछ। मानिस स्वस्थ भई काम गर्ने क्षमता वृद्धि गर्छ,’ उनले भने।

पहिले यसको महत्वबारे खासै जानकारी नभए पनि यसमा अत्यधिक प्रोटिन र क्याल्सियम पाइने तथ्य फेला परेको छ। यो खाएपछि शरीरमा रोगसँग लड्ने क्षमताको वृद्धि पनि गराउँछ। ‘औलो रोगसँग लड्ने क्षमताको विकास  घोङ्घीले नै गरेको हुनुपर्छ,’ उनले भने।


मेला महोत्सवमा घोङ्घीको माग बढ्दै :

थारू जातिका अधिकांशले  घोङ्घी खाने गरेका छन्। शंखेकिरा जस्तै देखिने भएकोले गैरथारूका पुराना ब्यक्तिले  घोङ्घीलाई किरा भनेर छिछी–दुरदुर गर्दथे।  घोङ्घी खाने भएकै कारण गैर थारूको नजरमा थारू जाति फोहोरी भनेर कहलिन्थे। यसमा गैरथारूको मात्र दोष छैन। थारू जातिले  घोङ्घीको फाइदा र विशेषताको बारेमा बुझाउन नसक्दा गैरथारूले यसलाई नराम्रो नजरले हेरेको हुनु पर्दछ।

यसको महत्व र फाइदा बुझ्न थालेपछि पछिल्लो समय युवा पुस्ताले  घोङ्घी खान थालेका छन्। विभिन्न पर्व, मेला र महोत्सवमा  घोङ्घीको माग हुने गरेको छ। त्यसैले तराईका जिल्लामा हुने मेला र महोत्सवमा थारू जातिले  घोङ्घी र गंगटासहित थारू परिकार विक्रीका लागि स्टल राख्न थालेका छन्। कुनै बेला थारू जातिमा मात्र सिमित  घोङ्घी अहिले गैर थारूले पनि मिठो मानेर खान थालेका छन्।

‘मेला, महोत्वसमा  घोङ्घी खानेको भीड नै लाग्छ,’ थारू हस्तकला ब्यवसायी तथा थारू परिकारको व्‍यवसाय गर्दै आएकी निरु चौधरीले भनिन्, ‘ घोङ्घीको परिकार खान आउनेमा थारूभन्दा गैरथारू धेरै हुन्छन्।’

यसरी बनाइन्‍छ परिकार :

 घोङ्घी बनाउने केही विधि छ। सबैभन्दा पहिला  घोङ्घीलाई सफा पानीले धोएर चामल वा गहुँको पिठो हालेर पानीमा एक दिन भिजाउनुपर्छ । त्यसो गर्दा  घोङ्घीले खाएको माटो र विकार चिजहरू बाहिर निस्किन्छ। त्यसपछि फेरि सफा पानीले धोएर  घोङ्घीको पछाडिको भाग काटेर फाल्नुपर्छ। पानीमा हालेर उमाल्ने र  घोङ्घीभित्र भएको बिर्ची (ढक्कन) बाहिर निकाल्नुपर्छ।

भाँडामा ठिक्क पानी राखेर  घोङ्घीलाई फेरि पकाउने र त्यसमा स्वाद अनुसारको नुन, बेसार, खुर्सानी, लसुन, अदुवा, अलैँची आवश्यकताअनुसार राख्नुपर्छ। मसला  घोङ्घीभित्र पसुन्जेलसम्म पकाउनुपर्छ र चामलको पीठो घोलेर पाकिरहेको  घोङ्घीमा हाल्नुपर्छ। चामलको पिठोले  घोङ्घीको स्वाद झनै थपिदिन्छ र खाँदा  घोङ्घीको चट्टौर (मासु) निकाल्न मद्दत गर्छ।  घोङ्घी पाकिसकेपछि धनियाँ वा लसुनको पत्तालाई मसिनो टुक्रा बनाएर हाल्नुपर्छ।

 घोङ्घी पकाउन धेरै मसला चाहिन्छ भन्ने छैन। कम मसलाबाट पनि बनाउन सकिन्छ। तर, मिठो बनाउन अन्तिममा  घोङ्घी झान्ने भाँडालाई मज्जाले तताउने र त्यसमा आफूलाई चाहिनेजति तेल हाली सुकेको खुर्सानी र सुकेको तोरीको बियाँ वा मेथी हाली झान्न सकिन्छ। यसरी स्वादिलो  घोङ्घीको परिकार तयार हुन्छ। (source :thaha khabar)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu