"सन्दर्भ - सपनाको !! - रेसम चौधरी

Thursday, 2 March 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

रेसम चौधरीको पुस्तक संयोग बाट लिइएको अंश।।।      

                      "सन्दर्भ - सपनाको !!

             निर्बासनमा आएदेखी मेरा आफन्ती र नजिकका मित्रहरूबाट अलि टाढिएको छुँ म। एकजोर च्यात्तिएको कपडाको साथ नेपालको बोर्डर कटाइदिएका थिए मेरा एकजना भाइले। निर्बासनमै आउने मन त थिएन तर केही सुरक्षाकर्मी मित्र, राजनैनिक योद्धा अनि घर परिवारको बिशेश आग्रहमा केही दिनका लागि आएको म तर आज झन्डै दुई बर्षको हाराहारी पुग्न थालिसक्यो। निर्बासनको केहि महिना चुपचाप रहेपनी अन्ततः सामाजिक संजालबाट टाढा रहन सकेन। हो! यहि सामाजिक संजाल मार्फत साथी भएकिहुन् "एरिका"बहिनी। अत्यन्तै खरो भावनाहरु पोस्ट गर्ने र प्रखर बाहुन बिरोधि हुन् उनी। उनी मलाई पहिचानबादिको नेता मान्छिन्,यो भन्दा बढी नलेखौँ होला। मेरा सामाजिक संजालका हजारौं मित्रहरू मेरा शुभचिन्तक मात्रै छैनन्,परिआएमा रगत दिन समेत तयार छन। हो! यिनैको ममताले पनि मलाई निर्बासन सजिलो भएको छ। अमेरिकाका राम,जर्मनका जेकि,काठमाडौकि एरिका,सिन्धुलिका कृष्ण, दिल्लीका संजय,सितापुरका ओपि,लखनउका शेर ब.,लखिमपुरका दद्दु, पलियाका चरणजित, तिकुनियाका गुर्मित सिंह, फकिरपुरिकी माधुरी प्रधान, स्रावस्तिका राजकुमार,भच्काहिका कर्मबिर छैला,गोरखपुरका बिनोद भाइ नभएको भए सायद मेरो निर्बासन जिन्दगीको कल्पना समेत गर्न सक्दैन। निर्बासनमा मैले आफ्नालाई गुमाएँ,पराईलाई पाएँ। लखिमपुरमा मेरो आफ्नै साख्कै कान्छी फुफुको छोरा माइकुलाल डाक्टर छ तर उसबाट सहयोग त परै जाओस्,संगालेर राखेको दुईचार पैसा पाउन समेत संघर्ष गर्नुपर्‍यो। बाल्यकाल देखि टुहुरो भनेर सहयोग गरेको तर आफुलाई परेको बेला त्यो नियति भोग्नुपर्दा सार्‍है मन रोयो। सबै दुख लेखेर सम्भव पनि हुन्न तर राजनैनिक रूपमा ठुला कुरा गर्ने टिकापुरको मन्चमा भड्किलो भासणमा गर्ने नेताले समेत सुको सहयोग गरेनन्,अरु त अरु हालखबर सोध्नलाई भारतबाट रु.१२ प्रती मिनेटका दरले खर्च गरेर फोन गर्दासमेत मिटिङमा छुँ भनेर फोन काटिदिन्छन्। सङ्गै पहिचानको लागि थरुहट,थारुवान आन्दोलन गर्ने अन्य राजनैतिक दलका नेताले नै मलाई निर्बासित जीवन जिउन बाध्य बनाएको घाम जस्तै छर्लङ्ग छ। जनजाति,मुलबासी बाहेक थारु र मधेसी दुबैपक्षका नेतालाई म आए आफ्नो बर्चस्व गुम्ने डर छ। कहिलेकाही मधेसी र हाम्रा थारुनेता एकैठाउँमा बसेर गफ गर्छन् रे- "साला हमको सि. के. ने बर्बाद किया, और तुम थारुओँ को रेशम ने। ए दोनोका वर्चस्व होगया है तराईमे।और दोनोको हि सडाके रख्ना है सालोँको।"अनि फोरम तिरका ठुला थारु नेता हो! हो!! भन्दै मुन्टो हल्लाउँछन रे। म सि. के. जस्तो देश माग्ने नेता होईन तर पहिचान सहितको संघीय प्रदेशका निमित्त सत्तिसाल झैँ अडिग छुँ। हुनसक्छ यो यात्रा बर्षौँ लम्बिन सक्ला तर बीचमा पक्कै टुट्नेछैन।
                           एरिका बहिनिको स्वभावको बारेमा पुर्ण जानकार त छैन म,झुलुक्क एकपटक बाहेक उनको अनुहार पनि राम्रोसँग ठम्याउन सकेको छैन मैले। म यत्ति जान्दछुँ, उनी पहिचानबादिको कट्टर समर्थक र प्रखर बाहुनबादको बिरोधि हुन्,सायद म पनि यो मामिलामा उनिभन्दा कमजोर पो छुँ कि जस्तो लाग्छ। हिमाञ्चल प्रदेशको कुल्लु भन्ने स्थानमा जाडोले कठांग्रीरहँदा उनले च्याटिङ्गमा यो म्यासेज लेखेपछी मलाई रातभर निन्द्रा लागेन। निद्राको विकल्पमा म मेरो मोबाइलबाटै यो सत्यतथ्य लेख्नपुगेँ। हुन त मेरो पुस्तक संयोगमा मैले कुनै बनावटी पात्र,काल्पनिक मनगढन्ते कुरो केही लेखेको छैन। जे जति छन,तथ्यगत नै छन्। सुनेका,कसैले भनेका श्रोत मैले खोल्दा मेरो धर्म समाप्त हुन्छ होला । आखिर के यस्तो लेखिन् त उनले?? जसका कारण म कलम चलाउन बाध्य भएँ?? उनले लेखेको म्यासेज जस्ताको तस्तै तपाई समक्ष राखिदिएको छुँ।

- तपाईंले पाउनु पर्ने जति सहयोग थियो त्यति सहयोग हाम्रो समुदायले गरेका छैन र वास्ता छैन कसैलाई - सारै बिर्क्तिएर आउँछ, यस्तो किसिमले पहिचानको आन्दोलन कहाँ पुगाउला र भन्ने लाग्छ - तपाईंमा आस छ तर सहयोग गर्न नपाउदा मन खान्छ दाजु!

- हाम्रो मान्छेहरुले तपाईंलाई चिनेन बुझेन क्या दाजु

- यति बेला सबैको सहयोगमा तपाई प्रचण्ड ताप भएर बल्नु पर्ने हो!
        
             धेरै खस बाहुन मेरा साथीहरूले पहिचानको परिभाषा सोध्छन् त्यतिबेला मलाई झनक्क रिस पनि उठछ। संघीयता र पहिचानका नाममा करोडौं डलर पचाउनेको झुन्डले जिस्काए झैँ लाग्छ। के साच्चै अब पहिचानको परिभाषा पढाउनै पर्ने भो त?? होईनभने किन फोकट्मा जिस्काइरहन्छौ?? कसैले १२५ जाती छन नेपालमा भन्छन्। कसैले पृथ्वीनारायणको लवजलाई चार वर्ण छतिस जातको फुलबारी भन्छन्। कसैले ब्राहामण,क्षेत्री,वैश्य,शुद्र गरि चारवटा लाई मात्रै जात मान्छन्। तर पहिचान त वर्ण, बर्ग र राज्यमा उत्पिडनको समाबेशिता हो।यो त राज्यले हामीलाई खोजीखोजी दिनुपर्ने हो तर हामी यस्तो देशमा जन्मिएका छौँ,जहाँ आफ्नै पहिचानको लागि संघर्ष गर्नुपर्छ। इतिहास तिनले लेख्छन् तर सम्झाई हामीले दिनुपर्छ। सम्बिधान सभाको चुनाव हुनुभन्दा पहिले देशका सारा होटल होटलमा संघीयताको परिभाषा बुझाउने निहुमा बजेट रित्याउनेहरुको झुन्डले अहिले मान्छे उकासी उकासी संघीयता चाँहिदैन भन्दा यो कस्तो स्वाँठिहरुको झुठो राजनीति हो??? हेरि,सम्झी आश्चर्य मात्रै लाग्दैन,लाज्जाबोध समेत हुन्छ। यहि पहिचानको आन्दोलन गर्दा हिजो सडकमा हामी एक थियौं आज स्वार्थको लालसामा फरकफरक भएका छौँ । यहाँ पहिचान भन्दा आफ्नो स्वार्थमा रमाउनेहरुको ठुलै झुन्डै रहेछ। यहि गहनताको पोखरिमा चुर्लुम्मै गोता लगाएर होला,एरिकालाई मेरो चिन्ता लागेको। काठमाडौंको बसाइमा राजनैनिक क ख कसलाई आउदैन र??? रात छिप्पिसकेको छ,बाहिर चिसो सिरेटो चलिरहेको छ। हिजोअस्ती खिचेका फोटो हेर्दै म निदाउने प्रयत्न गर्छुँ। लाम लागेर भोजन खाएको तस्बिर हेर्दा तुरुक्क दुई थोपा आँसु ओछ्यानमै झर्छ। लो रोटि!! फुत्त फालेर दिएकोबेला मन कम्ती रुँदैन। अरे यार रोटि भि लिया और चावल भि?? ए लङ्गरका प्रसाद है,सबको खाना चाहिए भाइ!! एक छाक खानाको लागि मन्दिरमा चढाएको भण्डारा खान जाँदा स्वंयसेवक भैयाले हप्काउँदा कम्ती चित्त दुख्दैन मेरो?? तर के गर्ने? बाध्यता र बिबशता मान्छेको यस्तो कडि हो, जहाँ मान्छे जर्जर तरिकाले पनि जिउन बाध्य हुन्छ। भन्डारा बाँड्ने भैयाको एक वचन सुनेर मेरो पेट भर्छ भने त्यो पनि स्वीकार छ तर मन न हो कुनबेला कुडिँन्छ- ठेगानै हुँदैन । सबैलाई बाँड्ने रेशम चौधरी आज दुइपैसा जोगाउनका लागि सार्बजनिक निशुल्क भोजनका लागि लाइनमा लाग्छ। जति सम्झाउन खोजेपनी मन मान्दैन,जेसुकै होस भनेर धित मरुन्जेल रोइदिन्छुँ। यसरी रुदैँ आएको पनि धेरै भो, रुँदा आँसु पुछिदिने पनि कोहि छैन। घरमा बस्दा छेउमै संगै सुत्ने रन्जिता हुन्थिन्,जस्तै दुख परेपनी परिवारको सहाराले मान्छे बैतरिणी तर्न सक्छ तर बिरानो ठाउँमा नितान्त एक्लोपनको सहारा दैब सिवाय अरुकोहि हुनसक्दैन। आँसुले सिरानी लपक्क्कै भिजेको पत्तै हुँदैन,तकियालाई पल्टाएर जसोतसो निदाउँछु।
                              
                                  सार्वजनिक मन्दिरहरुमा लङ्गर(भन्डारा) खाएरहोला, या त्यही लाइनमा लागेर खाएको फोटो हेरेर होला राती भयंकर सपना देख्छुँ। एकछिन आमाले भात खान बोलाईरहेको, कुनैबेला रन्जिताले चटनी पिसिरहेको,कुनैबेला सासुमाले ज्वाँई साप! कहिले आउने खसीको मासु खान भनेको?? यस्तैबेला ठुलो भिरबाट आफ्नै छाँयाले आफैलाइ सरापिरहेको सपना देखेँ।..... ई...... खा!.... रेशम। यसैगरी लाइनमा लागेर मागी मागी खा- रेशम चौधरी। बडो पहिचानको आन्दोलन गर्ने भाको। पहिचानको झुट्ठा राजनीति गर्नेहरुले तेरो रिसोर्टमा उधारो खाएर पैसो नतिरेको पनि बिर्सिस्?? तेरा पहिचानको आदर्शलाई भँजाएर मान्छे मन्त्री भैसके, तँ र तेरा सन्तानलाई राज्यले एकैदिनमा माँग्ने बनायो। अझै पहिचानको आन्दोलन ??? प्रजातान्त्रिक,लोकतान्त्रिक लडाइँमा तिम्रो सबै पहिचानबादिले पसिना,रगत बगाए तर खोइ??? खोइ प्रजातन्त्रको अनुभुत भएको तेरो बर्गलाइ??? खोइ! लोकतान्त्रिक अधिकार पाएको तेरो बर्गले??? तँ केवल जनमुक्तिको नायक सुभाष चन्द्र बन्न खोज्छस्, तर देश चलाउने त पन्डित जवाहरलाल होइनन् ???  तँ सामाजिक न्यायका लागि निर्बासित छस् तर तेरा साथीहरू त लुछाचुँडी गर्दै देशभित्रै छन त। तँ पनि थारुलाइ भँजाएर खान सिक्, २२/२३ बर्ष सांसद मन्त्री खान छोडेर पहिचानको आन्दोलनको नाटक गर्छस साला।। सबैले विद्वान,बुद्धिजीवी भन्छन् तँलाई, तर खोइ?? तेरो बुद्धि त मुर्ख्याइ मात्र रहेछ।। जा!! सामन्तीका खुट्टामा लम्पसार पर,माफी माग,आफ्नो परिवारको बन्दोबस्त गर। धेरै जनताको लागि सोचिस् भने येस्तै दुख पाउँछस् बुझिस??? खोइ?? तँ निर्बासनमा बस्दा तेरा जनताले आन्दोलन गरेको ??? कहाँ गए तेरा नेताहरू?? तेरा नेतालाई तँ भन्दा बालुवाटारको कुकिज मीठो लाग्छ भन्ने थाहा छैन तँलाई ??? तैंले पानी पिउन समेत नपाउँदा तेरा नेताले पाँचतारे होटलमा रक्सीको खोलै बगाउँछन भन्नेपनि हेक्का छैन तँलाई ? खोई तेरो बुद्धिको बिर्को खुलेको ??? तेरो,लिम्बुवानि,खुम्बुवान,मगरात,तमुवान,दलित,उत्पीडित शक्तिहरू??? सबैजना स्वार्थको पुरी पकाइरहेको बेला तँ चाँहि पहिचानको आन्दोलन गर्ने भाको?? बन्नदे दास तेरा बर्गलाई। कमैया,हलि,भैया,लिँडे,सब स्वीकार।। दासता स्विकार्ने तेरो समुदायको बानी भैसक्यो बुझिस्??बरु तँ पनि सामन्ती देश लुटुवाहरु संग मिलेर लुट।। आफ्नो दुनो सोझ्या रेशम!!! अर्काको सोच्नेको भलो कहिले हुँदैन बुझिस??? तँलाई भिमसेन थापाको इतिहास सम्झाउन पर्छ र?? सेरिएर घिटी घिटी भै प्राण नजाँदा समेत शासकले दया याचना देखाउन्नन भन्ने तँलाई थाहा छैन???त्यसैले भिमसेन होईन, पृथ्वीनारायण बन्न सिक बुझिस्??? इतिहास सहिदको भन्दा कठोर बर्बर शासकको लेखिन्छ भन्नेपनी हेक्का छैन तँलाइ??? तँ आन्दोलनको लागि बस्ती बस्तीमा दौडिरहँदा तेरा साथीहरूले काठमाडौको टेलिभिजनमा चर्की चर्की थुतुनो सोझ्याइ भासण गरेको दिन पनि बिर्सन्छस्??? जा! बरु आफ्नै देशमा बाजेहरुको स्वस्ती गर,म परिवर्तन होईन,परम्परा जोगाउँछु भन्। लोकतन्त्र,गणतन्त्र सबै तिम्रै देन हो प्रभु भन।। तेरो कल्याण त्यँही छ बुझिस्??? सपना देखिरहेकै बेला सुतेको कोठा ढकढकाईले झँल्यास्स ब्युँझिन्छु। भाइ संजयको हातमा तातो चियाको गिलास छ। हातले चिया समात्दै पहिलो चुस्की लगाउँछु, चिया अत्ति गुलियो छ तैपनि बिहानिको चिया जसोतसो पिउँछु। रातीको सपनाले मन खल्लो भएको छ। अमिलिएको मन भारी बनाउँदै बिहानिको नित्यकर्म तर्फ लाग्छुँ। भारतको हिमान्चल प्रदेशको कुल्लु अत्यन्तै चिसो छ। यहाँ प्रशस्तै होटेल छन् तर कामदार सबै नेपाली छन। स्याउका फाँटहरुमा नेपाली थारुहरुको प्रशस्तै पशिना बगेको छ यहाँ ! मेरो यात्रापनि नेपालबाट मजदुरिका लागि आउने हजारौं थारुहरुको पीडाले यहाँसम्म डोर्‍याएको हो। धेरै पाहाडी ठेकेदारले यहाँको जमीन भाडामा लिएका छन् तर मजदुर सबै थारु मात्रै छन। यहाँपनी थुप्रै शोषण हुँदोरहेछ। यी सब नेपाली थारुका कथा सुनाउने भाइ संजय पनि नेपाली नै हुन्। उनी दाङ्गतिरका बाहुन ठिटो भएपनी थारुको पीडाको खिस्सादेखि चिन्तित छन। एउटा पातलो ज्याकेट अनि हिमान्चलको चिसो ठेग्न नसकेर म फर्किने निर्णय गरेँ,अर्कोपटक आउने मन कल्पाएर।। निहुँ ज्याकेटको मात्रै थिएन, हिमान्चलको पाहाडी भेकको होटेल यति महँगो रहेछ कि त्यहाँ बस्ने एकरातको खर्चले मलाई झन्डै १५ दिन पुग्छहोला।।
                    बिहानभरी थारुहरुले परिश्रम गर्ने स्याउ बगान,तरकारी खेती र अन्य पेशाको बारेमा जानकारी लिएँ। करिब चालीस हजार थारु मजदुरहरुको भिडमा तीस हजार भन्दा बढी त थारु नै रहेछन्। अझै म आएको हल्ला भुकम्प झैँ हल्लाउँदै,सुनामिको बेगमा फैलियो। केही कैलाली,बर्दियाका थारु साथीहरू संग भलाकुसारी पनि भो। नेपाललाई स्विट्जरल्यान्डको सपना देखाउने नेपाली नेताले एकपटक कुल्लु आएर हेरे हुन्थ्यो। मुलुकको श्रमिकको पसिना कहाँ बग्दैछ?? हुन त हाम्रा नेपालका नेता बिरामी नेतालाई भेट्न अस्पतालमा दौड्दै फुर्सद छैन,कहाँ कुल्लुमा आएर नेपाली श्रमिकको मेहनत हेर्नू?? अझै बस्ने हेर्ने रहर हुँदाहुँदै दिल्ली फर्किने बाध्यतामा म आएँ। मलाई कुल्लु र एरिका बहिनिको बारेमा केही लेख्न मन लाग्यो, कुल्लुसंग त अनुमती लिनुपर्दैन तर जान्दाजान्दै पनि एरिका बहिनिको पनि अनुमती लिइन मैले। केही गल्ती लेखेको भएपनी क्रान्तिकारी दाजु भनेर उनले माफ गरि नै दिनेछिन्। अन्ततः जे जस्तो भएपनी लेखियो,मेरो पुस्तक संयोगको लागि पनि खुराकै भयो। कुल्लुको चिसो र एरिका बहिनिको ज्वारभाटा उस्तै उस्तै लाग्यो मलाई। कुल्लुले कामदार खोजेको छ- हिमान्चल बनाउने,एरिकाले क्रान्तिकारी योद्धा खोजेकिछिन्- नेपाल बनाउने। उनले पहिचानमा देश देख्छिन्,शोषण र दमनका विरुद्ध लाप्पा खेल्ने ठुलो धोको छ उनको।
        
                             लेखिएको यो मेरो यो लेख पढ्न एकजना मित्रलाइ दिएपछि उनले उल्टै मलाई प्रश्न गरे- तँलाई निर्बासनबाट फर्किनु छैन रेशम ?? तिम्रो जस्तो आबेग त नेपोलियन र हिटलरको पनि थिएनहोला। अलिअलि झुक्न पनि सिक यार! तिमी सधैं उतै बस्ने होइन क्यारे! राजनैतिक मुद्दा मिल्न कति न लाग्ला?? मैले उसलाई नम्र भावमा कठोर जवाफ दिएँ- संसारको जुनसुकै कुनामा जाउँ,जहाँसुकै जस्तोसुकै ठाउँमा जाउँ,सत्यता मेरो यथार्थ हो,पहिचान मेरो क्रान्ति हो,समाबेशी मेरा कानुनका धारा हुन्। उत्पिडनको पक्षमा मेरा आवाज घन्किरहनेछन्, चाहे पहिचानको आन्दोलनको नाममा मेरो देश एकादेशको कथा किन नहोस् ???

यसका लेखक ©® रेसम चौधरी हुन यहाँको फेसबुक बाट साभार गरियको हो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu