मलेसियामा नेपालीहरु किन जेल पर्छन ? (विशेष रिपोर्ट पढेर सेयर गर्नुहोस्)

Friday, 23 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

मलेसिया:= सुन्दर भविष्यको सपना सजाउँदै आएकामध्ये कयौं राम्रै कमाएर सद्दे फर्कीएका छन् भने कतिपय अपाङ्ग भएर फर्किएका छन् । त्यस्तै कोही मलेसियामै बेखबर त कयौं सर्वस्व गुमाएर कफिनमा फर्किएका छन् । त्यसबाहेक मलेसियाको मजदुरी कथाव्यथाभित्र अर्को पाटो पनि छ, जेलजीवन ।
मुआरको एक फर्निचर कम्पनीमा कार्यरत सुजन श्रेष्ठ र होमबहादुर मगरबीच आफूहरु बस्दै आएको होस्टलमै सामान्य भनाबैरी भयो। झगडाले उग्र रुप लियो, अस्पतालमा उपचार गराउँदै गर्दा होमबहादुरको मृत्यु भयो। घटनालगत्तै १९ वर्षीय सुजन पक्राउ परे। २ वर्षअघि भएको उक्त घटनाबारे हालै अदालतले उनलाई २२ वर्षको जेल सजाय सुनाएको छ। उनी जेलको चिसोमा दिन कटाइरहेका छन्।

सन् २००१ मा रोजगारीका लागि मलेसिया आएका तत्कालीन बर्सुचेत गाविस–१, नुवाकोटका हरिबहादुर घलेको ३ वर्षे करार सकेर घर फर्कनु केही दिनअघि चिनेजानेका नेपाली साथी गणेश तामाङसित भेट भयो। गणेशले आफू केहीबेरमा आउने बताउँदै एउटा झोला घलेको हातमा थमाए। झोला लिएर गणेशले भने अनुसारै उनी क्वालालम्पुरको एक होटलको कोठामा पुगे। नेपाली दूतावासका अनुसार कोठामा बस्दै गर्दा हरिबहादुर ८ सय ७५ ग्राम लागुपदार्थ (हिरोइन) सहित गत सन् २००३ मे ३० मा पक्राउ परे। गत २००९ नोभेम्बर २६ मा मलेसियाको उच्च अदालतले (हाइकोर्ट) ले उनीमाथि मृत्युदण्ड सजाय दिने फैसला सुनायो। हाल उनी मृत्यु कुर्दै जेलमै दिन बिताइरहेका छन्।

रोजगारीका लागि मलेसिया आएकाको आ-आफ्नै कथाव्यथा छ, वर्णन गरिसाध्यै छैन। वैदेशिक रोजगारीभित्र जेलिएका त्यस्ता अनेक कथाव्यथा मध्ये सुजन र हरि दुई भिन्न प्रतिनिधिपात्र हुन्।
सुन्दर भविष्यको सपना सजाउँदै आएकामध्ये कयौं राम्रै कमाएर सग्लै फर्किएका छन भने कतिपय अपाङ्ग भएर। त्यस्तै कोही मलेसियामै बेखबर त कयौं सर्वस्व गुमाएर कफिनमा फर्किएका छन्। त्यसबाहेक मलेसियाको मजदुरीका क्रममा कतिपयले भोग्ने गरेको बेग्लै व्यथा हो, जेल सजाय।
मलेसियामा महिनैपिच्छे कुनै न कुनै अभियोगमा नेपालीहरु जेल परेका खबर आउने गरेको विषय नौलो रहेन। क्वालालम्पुरस्थित नेपाली दूतावासको पछिल्लो तथ्यांक हेर्ने हो भने हाल १९६ जना नेपाली विभिन्न अभियोगमा मलेसियाका विभिन्न जेलमा सजाय भोगिरहेका छन्। ती बाहेक गतवर्ष मात्र एकहजार ४० जना नेपालीहरु जेल सजाय भुक्तान गरेर स्वदेश फर्कीएका छन्।

के कारणहरु जेल पर्छन्?

जेल पर्नुका अनेकन कारण छन्। जेल पर्नेहरुमाथि बिना भिसै काम गरेको, ओभरस्टे बसेको, चोरी डकैती, अपहरणमा संलग्न रहेको, गालीगलौज तथा अभद्र व्यवहार गरेको, लागूऔषध प्रयोग/सेवन, लागूऔषध कारोबार र हत्यासम्म लगायतका गतिविधिमा संलग्न रहेको अभियोग लगाइएको छ। त्यसरी जेल पर्नेमा साथीभाईको लहैलहैमा लागेर अनैतिक/गैरकानुनी गतिविधिमा लाग्नेदेखि रोजगारदाता कम्पनीसँगको सम्झौताअनुसारको तलबसुविधा नपाएपछि कम्पनी छाडी भागेर गैरकानुनी अवस्थामा काम गर्नेसम्मका छन्। त्यतिमात्र कहाँ हो र, कतिपय सामान्य जानकारीको अभावमा समेत भूलवश: जेल पर्ने गरेका उदाहरणहरु पनि नभएका होइनन्।
कतिपय गम्भीर अभियोगमा कतिपय वर्षौंदेखि जेल जीवन बिताइरहेका छन्। अधिकांश गैरकानुनी अवस्थामा काम गर्दा पक्राउ परेकाहरु पाइएको छ।

न्युनीकरणको प्रयास:=

पछिल्लो समय दूतावासले यस्ता समस्यामा न्युनीकरण गर्न नेपाली कामदारको जनचेतना बढाउन प्रभावकारी सामाजिक सञ्जाल फेसबुकमा आफ्नै पेजमार्फत विभिन्न जानकारीहरु प्रवाह गर्दै आएको छ। साथै आफ्ना सेवा र कामदारको समस्या, जेल एवं कानुनी परामर्श सेवा र अलपत्र परेकाहरुको उद्दार प्रक्रियाबारे जानकारीमूलक सचेतना कार्यक्रम समेत गर्न थालेको छ। जेल र फिर्ती केन्द्रमा रहेका नेपालीहरुको अवस्थाबारे अवलोकन गर्ने र जानकारी संकलन गर्दै आवश्यक सहयोग र समन्वय गर्दै आएको नेपाली दूतावासले जनाएको छ।
सञ्चारमाध्यम, सामाजिक सञ्जालजस्ता विभिन्न माध्यममार्फत पनि विविध सूचनामूलक जानकारीहरु सहजै प्राप्त गर्ने भएकाले पनि पछिल्ला वर्ष यस्ता समस्या विस्तारै घट्दै गएको अनुभव दूतावासका अधिकारीहरुको छ। ‘अहिले १९६ जना विभिन्न अभियोगमा मलेसियाका विभिन्न जेलहरुमा सजाय कटाइरहेका छन्।’ जेल एवं उद्धार फाँट हेर्दै आएका दूतावासका द्धितिय सचीव महेश्वर मणि त्रिपाठी आफ्नो अनुभव सुनाउँछन्, ‘तर अघिल्ला वर्षहरुको तुलनामा जेल र फिर्ती केन्द्रमा हुने नेपालीहरुको संख्या घट्दो छ। किनकी हामीले मलेसियाका १५ जेल र १३ फिर्ती केन्द्रमा रहेका नेपालीहरुको अवस्था अबलोकन गर्ने, तथ्यांक संकलन गर्ने र फिर्ती केन्द्रमा रहेकाहरुको उनीहरुको उद्दार गर्दै आइरहेका छौं।’

दूतावासले समस्यामा पर्ने नेपालीलाई कानुनी सहायता सेवा प्रदान गर्न एकजना वकिलको व्यवस्था गरेको छ। तर मुद्दा विशेष वकिल आवश्यक पर्ने र एउटै वकिलले सबैजसो मुद्दा हेर्न नमिल्ने हुँदा पनि समस्यामा पर्ने नेपालीले प्रभावकारी कानुनी सहायता पाउन सकिरहेका छैनन्। वकिलका लागि लाग्ने शुल्क तिर्न नसक्दा कतिपय कानुनी सहायता अभावमै जेलमै सजाय भोग्न बाध्य छन्।जेल पर्नेमध्ये अधिकांश बिना भिसै काम गरेको (गैरकानुनी) अभियोग लागेकाहरु बढी छन्। नेपालबाट कामका लागि आएपछि सम्झौताअनुसार तलब सुविधा नपाएपछि कयौं नेपाली कम्पनी छाडेर अन्यत्र काम गर्ने गर्दछन्। उनीहरु प्रशासनको निशानीमा पर्ने गरेका छन्।

गुनासो:=

दूतावासले जनचेतनामूलक कार्यक्रम केही सीमित सहरमा मात्र गरिएकाले धेरै नेपालीमाझ सूचना प्रवाह हुन नसकेको सरोकारवालाहरुको गुनासो छ। ‘जोहोर र पेनाङको सहरमा मात्र कार्यक्रम गरेर भएन। विभिन्न स्थानीय संघसंस्थाको सहकार्यमा बढी कामदार कार्यरत कम्पनीका होस्टल–होस्टलमा दूतावास पुग्नुपऱ्यो,’ एकजना अगुवा भन्छन्, ‘होटलमा मात्र कार्यक्रम गरेर भएन। कामदारको बीचमै पुग्नसके मात्र बढी उपयोगी हुन्थ्यो।’

उद्दारमा प्राथमिकता:=

द्धितिय सचीव त्रिपाठीका अनुसार हाल मलेसियाका विभिन्न फिर्तीकेन्द्रहरुमा २ सय नेपाली फिर्ती हवाई टिकटको पर्खाईमा छन्, तिनको पनि उद्दार गर्ने सुरमा छ- नेपाली दूतावास। लामो समयसम्म फिर्तीकेन्द्रमा अलपत्र पर्दा मानसिक एवं स्वास्थ्य समस्या देखिनसक्ने भएकाले उनीहरुको उद्दारलाई प्राथमिकता दिइएको उनले बताए। दूतावासले गत बिहीबार लिंगिङ फिर्तीकेन्द्रमा रहेका विभिन्न १० जना नेपालीको उद्दार गरेको छ।

मलेसियाली प्रावधानअनुसार जेल सजाय पूरा गरिसकेकाहरुलाई फिर्तीकेन्द्र (डिपोर्टेशन सेन्टर) मा सार्ने गरिन्छ। त्यहाँ सारिएपछि उनीहरु फिर्तीका लागि आवश्यक पर्ने कागजात र हवाईटिकटको व्यवस्था मिलाएर स्वदेश फिर्न सक्छन्।
गतवर्ष सन् २०१७ मा फिर्ती केन्द्रबाट उद्दार गरि स्वदेश फर्काइएका एक हजार ४० जनामध्ये २ सय २५ जनालाई वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको आर्थिक सहयोग लिई उद्दार गरिएको त्रिपाठीले बताए। बाँकीलाई अन्य विभिन्न संघसंस्था एवं व्यक्तिहरुको सहयोगमा फर्काइएको थियो।
  ( साभार:=आर सि गिरी/कान्तिपुर दैनिकबाट  )
                     

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu