काठमाडौ:=चर्चित गायक उदीतनारायण झा आफ्नो जन्मस्थल सप्तरीको भारदह आएका छन् । झण्डै दुई दशकपछि आफ्नो जन्मथलो आएका झा एक सातासम्म यहीं बस्नेछन् ।
केही समयअघि आफू भारतीय भएको भनेर प्रतिक्रिया दिएर विवादमा फसेका गायक झा जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित घर आएका हुन् ।
मिडियासँग केही कुरा गर्न नचाहेका झा जेठी पत्नी रञ्जनासँग मेलमिलाप भएपछि घर परिवारसँग भेटघाट गर्न आएको बताइएको छ । उनी गायन पेशामा लागेर लामो समयदेखि भारतमा बसोबास गर्दै आए पनि उनका दाजुभाइ भारदहमै बस्दै आएका छन् ।
बलिउडमा जमेपछि दीपा झासँग दोस्रो विवाह गरे लगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध बिग्रेको थियो । उदीत र रञ्जनाको सम्बन्धका कारण भारतमा हंगामा समेत भएको थियो । तर अहिले दुबैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।
पत्रकारहरुसँग भारदहमा छोटो कुराकानी गर्दै गायक झाले आफू एक हप्ता जन्मथलोमा बसेर सबै साथीभाईसँग भेटघाट गर्ने बताए । उनले भारदहमा अब नयाँ घर बनाउने बताउदै उनले जन्मथलोमा धेरै दिनपछि आएकोमा खुशी लागेको बताए उनी भारदहमा आएर आफ्नो परिवारसँग भेटघाट गरेपछि केही वर्षअघि आफू भारतीय भएको भनी मिडियालाई भनेको कुरा आफैं झुटो सावित पनि भएको छ । यद्यपि उनी यसबारेमा धेरै कुरा नै गर्न तयार भएनन् ।
भेट्नेको घुइँचो
गायक उदीतनारायण झा आफ्नो जन्मथलो आउनेबित्तिकै पहिला भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गरेका छन् । उनी पूजा गर्न मन्दिर पुग्दा स्थानीयहरुको भीड लागेको थियो । पालैपालो उनीसँग सेल्फी लिने पनि अत्यधिक देखिए।गायक झा आएको थाहा पाउनेबित्तिकै उनीसँग भेट्न जानेहरुको घुइँचो लागेको स्थानीयहरुले बताएका छन् ।
