थारू समुदायमा ‘ढुरहेरी’ (होली)को ऐतिहासिकता (पढेर सेयर अनिवार्य गर्नुस्)

Thursday, 1 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लेखक:=लखन चौधरी/लोकान्तर,,अन्य समुदायजस्तै आदिवासी थारू समुदायमा पनि होली अर्थात धुरहेरी/होरी पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष रहेको छ । हिन्दू धर्मको विभिन्न पुराणमा उल्लेख भएको कथाअनुसार असत्य तथा अत्याचारमाथि सत्य र इमान्दारिताको जीतको प्रतीकको रुपमा यस पर्वलाई लिइन्छ।विशेषगरी भगवान विष्णुको भक्त (शिष्य) प्रल्हाद आफ्नो बुवा हिरण्यकश्यपको घमण्डमाथि विजय प्राप्त गरेको प्रसंग तथा प्रल्हादकी फुपु होलिकाले भगवान ब्रम्हाबाट आगोबाट नजल्ने पाएको वरदानको गलत प्रयोग गरेको कारण होलिका आगोमा जली नष्ट भएको र प्रल्हादचाहिँ सकुशल निस्किएको घटनाबाटै होली पर्वको प्रदुर्भाव भएको हो । थारू समुदाय पनि हिन्दू धर्मको अनुयायी भएका कारण यो समुदायमा पनि विजयको उत्सवको रुपमा होली पर्व मनाइन्दै आइएको छ । यद्यपि यो समुदायमा होली अर्थात धुरहेरी मनाउने आफ्नै तौरतरिका रहँदै आएको छ ।

यहाँनिर प्रश्न उठ्न सक्ला, थारू समुदायमा होलीलाई धुरहेरी किन भनिन्छ भनेर । वास्तवमै थारू समुदाय आदिवासी भएको यो रंगको पर्वले पनि पुष्टी गरेको छ ।  रंग अवीरको उत्पत्ति आधुनिक युगमा आएर मात्रै भएको हो । रंग अवीर नभएको कालखण्डमा कसरी होली पर्व मनाए भन्ने पाटो पनि प्रमुख हो । थारू बुढापाकाहरुकै भनाइलाई आधार मान्ने हो भने, थारू समुदायमा चामलको पिठो, धुलो, खरानी, माटो आपसमा दलेर पर्व मनाएको देखिन्छ । त्यसकारण पनि धुलो/माटो दलेर मनाइएकोले यस पर्वलाई थारू समुदायमा धुरहेरी भन्ने गरिएको हो ।

यसरी मनाइन्छ

पश्चिमी थारु समुदायमा होली पर्व तीन दिन मनाइन्छ । पहिलो दिन अर्थात पूर्णिमाको दिन चीर दहन गरिन्छ । चीर दहनको विधि पनि यस समुदायमा आफ्नै मौलिक तौरतरिका रहिआएको छ । यसदिन थारू वस्तीका गुरुवा/देशबन्ध्या तथा भलमन्साहरुले विशेष पूजाको तयारी गर्नु पर्नेहुन्छ ।

यसैबीच गाउँका सदस्यहरुले आफ्नो क्षमताअनुसार चामल र खाने तेल संकलन गरी चामलको पिठो बनाउने गर्दछन् । जुन पिठोमा मिठाई मिसाएर तेलमा तरेको रोटी (झझरा) बनाउनु पर्ने हुन्छ । उक्त रोटीलाई प्रसादको रुपमा प्रयोग गरिने प्रचलन पनि छ । 

त्यस्तै, चीर बनाउनको लागि नजिकको जंगलबाट सिमलको हाँगा या रेंर (एक प्रकारको वनस्पति) काटेर ल्याउनु पर्ने हुन्छ ।  साँझपख जब गाईभैंसीहरुलाई घारी (गोठ) मा भित्र्र्‍यान्छ । तब गाउँको दक्षिण दिशामा उक्त सिमल या रेंरको हाँगा गाडिन्छ । जसको माथि तोरीको डाँठ, पराल, खर थुपारिन्छ । त्यसपछि गाउँका प्रमुख भलमन्सा तथा चिराकीले विधिपूर्वक पूजा गरी थुपारिएको खरमा आगो लगाउँ छन । जुनक्रममा गाउँका यूवा तथा बुढापाकाहरु लामो लठ्ठीमा गोबरको गुइठा (कन्डा) गुठेर लगेका हुन्छन् । उनीहरु बलिरहेको आगोमा उक्त गुइठा जलाउने पनि गर्छन् ।

होलिकाको प्रतिमाको स्वरुप तथा चीर दहन गर्ने अवधी निकै नै हर्षोल्लासपूर्ण रहेको हुन्छ । कोहि आफ्नो लाठीमा गुठेर लगेको गुइठामा आगो लगाउने क्रममा हुन्छन्, भने कोही ढुंगा, माटोले उक्त गुइठालाई हानेर खसाल्ने गर्नुको साथै दनदनी बलिरहेको आगोलाई निभाउने पनि गर्छन् । यसरी ढुंगा माटोले जलिरहेको वस्तुलाई हान्नुको तत्पर्य दुष्ट होलिलाई कुटीकुटी जलाउनु अर्थात पृथ्वी लोकबाट होलिका प्रवृत्ति सधैंको लागि नाश होस भन्ने पनि हो । जब सबैजना घरबाट लगिएको गुइठामा आगो लगाई सक्छन, तब तेलमा पकाइएको झझरा प्रसादको रुपमा आपसमा बाँडेर खाई आगो लिएर घर फर्कन्छन् । गुइठा रहेको उक्त आगोलाई यस समुदायमा नयाँ आगोको रुपमा लिइन्छ । पछि उक्त आगोलाई आ–आफ्ना कुल देवतालाई चढाउने तथा उक्त आगोमा विभिन्न परिकार बनाई देवतालाई पुज्ने पनि गरिएको पाइन्छ । तर पहिलो दिन रंग अविर भने दल्न नपाइने प्रचलन रहि आएको छ ।

दोस्रो दिन विहानै चीर बुटैना अर्थात सेलाउने गरिन्छ । सेलाउनको लागि गएका गाउँलेहरुले लोटा या गिलासमा पानी लगेर गएका हुन्छ । उनीहरुले कुशको कुचो बनाई त्यही कुचोको मदतले जलेको वस्तु या होलिका प्रतिमामा पानी छ्याप्ने गर्दछन् । यसरी चीर बुटाउने कार्य सकिएपछि गाउँलेहरु गाउँभरीको साझा देवता अर्थात देवथनुवामा जान्छन् । थनुवामा विराजमान रहेका देवीदेवताहरुलाई विधिपूर्वक पूजाआजा गरी सकेपछि आपसमा रंग अविर दलेर होली पर्वमा रंग दल्ने कार्यको सुरुवात हुन्छ । जसलाई नै थारू समुदायमा फागुवाइना अर्थात आफ्ना देवताबाट होली खेल्नको लागि अनुमति माग्नु पनि हो । त्यसपछि, दिनभरी रंग अविर दलेर हर्षोल्लासपूर्वक होली पर्व मनाइन्छ ।

यो समुदायले होली मनाउने फरक तरिका अप्नाउँदै आएको छ । यहाँसम्म कि, थारू समुदायले होलीको दोस्रो दिन मनाई रहदा नै अन्य समुदायमा होली सम्पन्न भैसेको हुन्छ । तर यो समुदायमा अझै एक दिन बाँकी नै हुन्छ ।

जसको तेस्रो दिन, हिलो, माटो आपसमा छ्यापेर मनाउने गरिन्छ । तेस्रो दिनको होली सदियौंदेखि अराजक तथा खतरापूर्ण रुपमा देखा पर्दै आएको छ । यो दिन हिलो, खरानी, कडा रंग, फोहर पानी, जलेको तेल समेत प्रयोग हुने हुँदा अराजक तथा खतरापूर्ण देखिएको हो । यद्यपी कतिपय थारू वस्तीमा दोस्रो दिन हिलो, माटो र तेस्रो दिन रंग अविरको प्रयोग पनि गरिएको पाइन्छ ।

सकारात्मक पक्ष :

होली अर्थात धुरहेरी पर्वको एउटै उद्देश्य असत्यमाथि सत्यको जीतको उत्सव हो । यस पर्वमा वर्षौदेखि टाढिएका इष्टमित्र तथा चेलीवेटीहरुलाई आमन्त्रण गरिएको हुन्छ । जसले गर्दा आपसी सुख/दुःख सटासाट हुनुको साथै भाइचाराको सन्देश पनि प्रवाह हुने गर्दछ । अर्कोतिर समूहिक रुपमा पर्व मनाउने प्रचलनलाई एकताको सन्देशको प्रतीकको रुपमा लिन सकिन्छ ।

यसैबीच होली पर्व मनाउने क्रममा यूवा युवतीहरुको आ–आफ्नै समूह रहेको हुन्छ । जुनक्रममा तिनीहरुले परम्परागत पोषाकमा सजिएर मादल, दफलगायत बाचागाजा साथ फागुवा पह्रर्ना  अर्थात घर–घरमा गई नाचगान गर्ने र ठूलावडासंग अशिर्वाद लिई अन्न, पैसाालगायत सक्दो सहयोग रकम संकलन गर्ने गर्दछन् । जसले गर्दा संस्कृति संरक्षाणमा टेवा पुगेको देखिन्छ ।

नकारात्मक पक्ष :

यस पर्वमा नकारात्मक पक्ष पनि हावी छ । जुन कारण यस पर्वलाई थारू समुदायमा सबभन्दा कान्छो, फोहरी र छिनार (उश्रृंखल) पर्व भन्ने गरिन्छ । यसैबीच महिला हिंसाको घटना पनि उत्तिकै घट्ने गरेको पाइन्छ । कतिपय मदाक पदार्थ सेवन गरेका समूहहरुले जबरजस्ती महिलाहरुको इच्छाविपरित रंग अविर दल्ने,  गोप्य अंगहरुमा हात हाल्ने गरेको घटना पनि बाहिर नआएका होइन् । जसले गर्दा यस पर्वले यौन हिंसा पनि बढाएको देखिन्छ । साथै लगाएको बहुमूल्य गरगहना हराउने, लुटिने सम्भावना पनि उत्तिकै हुन्छ ।

त्यस्तै छालालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हानी पुर्‍याउने रंग, माटो जलेको तेल, मोबिललगायत पदार्थ प्रयोग गरिने हुँदा तत्कालिन र दीर्घकालीन विभिन्न शरीरिक तथा मानसिक समस्या देखिने गरेको छ ।

पर्वको सन्देश असत्यमाथि सत्यको विजयको तथा भाइचाराको प्रतीक भएकोले यसै मुताविक पर्वलाई मनाउनु पर्दछ । जोशमा होस नगुमाई आफ्नो क्षमताले भ्याएसम्म सभ्य र भव्य तरिकाले अरुलाई असर नपुर्‍याउने गरी पर्वलाई मनाउनु नै पर्वको सार्थकता झल्किन्छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu