काठमाडौ :=संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा भएको छ । सोमबार पहिलो बैठक बस्ने भएकाले हिजै शनिबार सबै तयारी पूरा भएको संसद सचिवालयले जानकारी दिएको छ ।संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण आज आइतबार अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण साँझ ५ बजेका लागि तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान पछि सोमबार दुबै सदनको बैठक बस्न लागेको हो ।न्युज 24 ले समाचार छापेका छ्न।बैठकको अघिल्लो दिन दुवै सदनका सदस्यले सपथ ग्रहण गर्नेछन् ।
सांसदको सपथ ग्रहण अघि राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादवलाई आज दिउँसो एक बजे सपथ गराउनुहुनेछ । यादव प्रतिनिधिसभाको पहिलो बैठकको सभामुख हुनुहुनेछ । यस्तै राष्ट्रपति भण्डारीले राष्ट्रियसभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको सपथ गराउनुहुनेछ ।उहाँहरुले राष्ट्रपति भवन शीतल निवासमा सपथ लिएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई सपथ गराउनुहुनेछ । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको निर्वाचन नभएसम्म उहाँहरुले नै बैठकको अध्यक्षता गर्ने गरी व्यवस्था मिलाइएको छ ।
राष्ट्रियसभामा मनोनीत सदस्य डाक्टर युवराज खतिवडा, रामनारायण बिँडारी र विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वोच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उहाँहरुको सपथ भने नहुने भएको छ ।फौज्दारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालबारे सम्बन्धित निकायबाट लिखित जानकारी नआएकाले उहाँहरु सहभागी भए सपथ हुने संसद सचिवालयले जानकारी दिएको छ । यो संगै आज चर्चाको बिषय बनेको छ के शपथ ग्रहण कार्यक्रममा रेशम चौधरी उपस्थित होलान् र शपथ लेलान ?जानकारी अनुसार सहभागी भए रेशम चौधरीले आफ्नौ थारु भाषामा सपथ लिनेछ्न ।प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्यको व्यवस्था रहेको छ । यद्धपि राष्ट्रियसभाका ५६ सदस्यले मात्र सपथ लिनेछन् ।
सचिवालयका अनुसार मैथली भाषामा सबैभन्दा बढी १७ सांसदले शपथ लिंदैछन् । त्यसबाहेक हिन्दीमा ९, भोजपुरीमा ५, थारू,चौधरीमा ३, मगरमा २, बज्जिकामा २ तथा उर्दू, तामाङ, नेवारी र अवधि भाषामा एक–एक सदस्यले शपथ लिने भन्दै निवेदन दिएका छन् ।प्रतिनिधिसभाका ३६ जना र राष्ट्रिय सभाका ६ जना गरी ४२ जना सांसदले नेपालीबाहेक आआफ्नो मातृभाषामा शपथ लिने भएका छन् । संसद् सचिवालयका अनुसार नेपालीबाहेकका भाषामा शपथ लिने चाहने सांसदलाई निवेदन दिन शुक्रबारसम्मको समय दिएको थियो । नेपाली भाषामा शपथ लिने सांसदले भने कुनै निवेदन दिनु पर्दैन ।
