थारू समुदायमा घरेलु मदिरा (रक्सी) बनाउँनका लागि यतिबेला थारू समुदायमा महुवा संकलनमा धेरै मेहनत गरिएको देखिन्छ । गत वर्ष महुवाको सिजन थियो तर यो वर्ष कम मात्रमा फूलेको स्थानीयहरुको भनाई छ ।थारु समुदायमा महुवा र आँपमा केही न केही सम्बन्ध भएको बताउछन् कैलारी गाउँपालिका वडा नं. ८ का ६५ वर्षिया फागुराम चौधरी । उनी भन्छन् यो पर्ष आँपको सिजन छ त्यसैले महुवा त्यति फूलेको छैन । गत वर्ष आँपको सिजन कम थियो महुवा बढी फूगेको थियो ।
उनले थपे ‘गत वर्ष महुवाको सिजन थियो धेरैलाई भ्याई नभ्याई थियो । तर यो वर्ष अलि कम छ ।’महुवा प्रजातिको रुखको फूललाई प्रशोधन गरी मदिरा बनाउँने पूर्खैली प्रचलन हाल सम्म कायमै रहेकोले थारू समुदायका बुढापाखाहरु महुवाको लागि यो समयमा वनमै बसोबास गरेरै महुवाको फूल संकलन गर्ने गर्दछन् ।गहुँ बाली भित्रयाउने कार्य सकिए लगत्तै ग्रामीण वस्तीमा बसोबास गर्ने थारू फुर्सदको समयमालाई मध्यनजर गर्दै महुवाको फूल संकलन गर्ने गर्दछन् । महुवा संकलकहरु महुवाको फूल रहुन्जेलसम्म रातदिन नभनी महुवाको बोट र झरेका फूलहरुको संरक्षण समेत गर्दै आएको पाइएको छ ।कैलालीको गदरिया–६ बेनौलीकी चुल्हिया चौधरी केहिदिन यता पहिलैदेखि बटुल्दै आएको महुवाको बोटको अख्वारी (सुरक्षा) को लागि राती नै वनमा जाने गरेको बताइन् । घरायसी प्रायोजनको लागि महुवा बटुल्दै आएको भन्दै उनले आजकाल महुवा संकलन गर्नमै व्यस्त रहेको बताईन् ।उनले भनिन् ‘रातको ३÷४ बजे वनमै पुग्छौ, हाम्रो कलुवा खाने (विहानको खाना) काम महवारीमै (महुवाको बोट मुनि) हुन्छ ।’ उनले फेरी थपिन् ‘आजभोलि महुवा भरयाली (सिजन आएको) भएको छ, एक÷दुई छिट्नी (बाँसबाट बनाएको डालो) भरि प्रत्येक दिन संकलन गर्छौं ।’
गदरिया–३ लम्बीफाँटाकी फगनी चौधरीको दिनचार्य पनि आजभोलि वनमै बित्दै आएको छ । एक अठ्वार (आठ दिन) यता भिन्सहरी (झिस्मिसे अन्ध्यारो) मै भएपनि विहानको खाना लिएर वनमा पुग्दै आएको र दिउँसोसम्म महुवा संकलन गर्दै आएको उनले बताइन् ।फगनी चौधरीले महुवाको रक्सी पिउनमा स्वादिलो रहेकोले पुखौदेखि संकलन गर्दै आएको बताइन् । उनले करिब बैशाख महिनाभरी संकलनको कार्य हुने बताइन् ।