समाचकेवा पर्व सुरु

Saturday, 10 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


सहदेव चौधरी,,
काठमाडौ:= भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ। कात्तिक शुक्ल द्वितिया तिथि अर्थात आजदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्‍न हुने यस पर्वका लागि आजै कलात्मक माटोको मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो।
यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्‍न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन्। काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘समा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भनिन्छ ।
भगवान कृष्णकी छोरीको नाम सामा थियो। आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाइ साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको हो। तसर्थ, यो पर्व सामाचकेवा पर्वको रुपमा प्रसिद्ध भएको हो।
यो पर्व तराईमा विशेष गरी थारु समुदायका महिलाहरुले मनाउने गरिन्छ।साथै मिथिलाञ्‍चलमा पनि यसलाई मनाउने गरिन्छ। ग्रामीण क्षेत्रमा अझैं पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केही कमी आएको महशुस गर्न थालिएको छ ।
भविष्य पुराणमा उल्लेख गरिएअनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन्। भगवान कृष्ण आवेसमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिए।
सामाको भाइ साम्बले जब यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे। तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिहरुलाई श्रापबाट मुक्त गरिदिए।
भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायू हुने बरदान सामाले दिएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता रहेको थारु संस्कृतिविद् भुलाइ चौधरी बताउँछन्। उनी भन्छन्, ‘ तराईका आदिवासी थारु समुदायले परापूर्वकालदेखि समाचकेवा पर्व मनाउँदै आएको छ। अहिले थारु समुदायले काठमाडौंमा २० वर्षदेखि भव्‍य रुपले थारु महिला समाजले विशेष कार्यक्रम गरी मनाउँदै आएका छन्।’
यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ। सो दिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ। त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूति बनाइन्छ। यसका साथै बृन्दावन जङ्गल, झूठो कुरा लगाउने ‘चुगला’ साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्‍न रङले रङग्याइन्छ।
यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ। सोही क्रममा आफूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन्।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu