लखन चौधरी ,,
धनगढी := सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वमा न्यायोचित ढंगले बिदा नदिएको भन्दै कैलाली कञ्चनपुरका थारु समुदायले असन्तुष्टि पोखेका छन् ।
माघीको विशेषता अनुसार ५ नम्बर प्रदेश सरकारले २ दिन सार्वजनिक बिदाको घोषणा गरेपनि सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते मात्रै बिदा गरेको भन्दै असुन्तुष्टि जनाएका छन् । बिहीवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १ गते बिदा दिने निर्णय गरेको हो ।
थारु अगुवाले आफूहरूको माघी पर्वबारे प्रदेश सरकार गम्भीर नभएको भन्दै आक्रोश समेत पोखेका छन् । थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले सुदूरपश्चिम प्रदेश सरकारको रबैयाले आफूहरूको संस्कृति जोखिममा परेको बताए । आफूहरू पटक–पटक ध्यानाकर्षण गराएपनि कुनै सुनुवाइ नभएको संयोजक चौधरीले गुनासो छ ।
संयोजक चौधरीले भने, ‘थारु समुदायमा माघीलाई नयाँ वर्षको रुपमा मनाइन्छ । पुस अन्तिम दिनदेखि शुरू हुने माघी माघ ३ गतेसम्म मनाइन्छ । तर हामीले माघ १ र २ गते बिदाको माग गरेका हौ । बिदा नदिएकै कारण हामीले पर्व मनाउनबाट वञ्चित हुनेछौ । हाम्रो सांस्कृतिक अधिकारमाथि राज्यबाटै प्रहार भयो ।’
माघी नजिकिएसँगै तराईका जिल्लामा माघीको रौनक शुरू भएको छ । विशेषगरी नयाँ वर्षको रुपमा माघी पर्वलाई धुमधामसँग मनाउँदै आएको थारु समुदायमा चहलपहल बढेको हो ।सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लास्थित थारु वस्तीमा माघी तयारीको चटारो देखिन थालेको छ । वनबाट पात टिपेर ल्याउने, ढिक्री बनाउनका लागि चामलको कुटानी पिसानी गर्ने, आचार र दुना टपरी बनाउने, नाचको तयारी गर्नेजस्ता कार्य हुन थालेका छन्।
गाउँमा माघी कसरी मनाउने भनेर पनि गाउँको भलमन्साका घरमा भेला भएर छलफल गर्ने, बंगुरको मासुको व्यवस्था मिलाउने लगायतका कार्य भइरहेका छन् ।कामका लागि अन्यत्र गएकाहरू पनि माघी मनाउनका लागि गाउँघर फिर्न थालेका छन् । बस्तीमा माघीको चहलपहल बढ्दै गएको थारु अगुवाले जनाएका छन् । धुमधामका साथ माघी पर्व मनाउनका लागि अहिले तयारीको चटारो चलेको छ ।
माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व हो । यो समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघी पर्वसँगै नयाँ कामको शुरूवात हुने, चराले बोली परिवर्तन गर्ने, रुखमा नयाँ पालुवा पलाउने भएकाले थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मान्ने गरेको धनगढी उपमहानगरपालिका–५ तारानगरका स्थानीय दलबहादुर दहितले बताए ।
‘हाम्रो पुर्खाले माघीलाई त्यसै नयाँ वर्षको रुपमा मनाउन शुरूवात गरेका हैनन्,’ उनले भने, ‘वास्तवमा माघी पर्व हाम्रो नयाँ कामको थालनीसँग जोडिएको छ । माघी पर्वबाटै हामीले राम्रो र नयाँ कामको शुरूवात गर्छौ ।’
माघी पर्वका बेला वर्षभर के गर्ने भनेर योजना बनाउने गरिएको छ । थारु बुद्धिजीवीका अनुसार घरपरिवार र समाजलाई कसरी अगाडि बढाउने भनेर गम्भीर रुपमा छलफल गर्ने र वर्षभरको लागि योजना तय गर्ने गरिएकाले पनि यसलाई नयाँ वर्षको रुपमा लिइएको हो।
जुनसुकै वर्गका थारु परिवार भएपनि माघीलाई नयाँ वर्ष र स्वतन्त्रताको पर्वको रुपमा धुमधामका साथ मनाउने गरेका छन् । माघीको अवसरमा ठाउँठाउँमा माघी मेला र महोत्सव गर्ने तयारी पनि भइरहेको छ ।
पुस महिनाको अन्तिम दिनदेखि माघ २ गतेसम्म थारु समुदायले माघी पर्व मनाउने गरेका छन् । यो पर्वमा मिठो मिष्ठान खाने, मान्यजनबाट आशिर्वाद लिने, मघौटा नाच नाचेर रमाउने गरिन्छ ।
