
पश्चिम नेपालका थारु संस्कृति एउटै थलोमा
दाङ:=प्रदेेेश ५ को मुुख्यमन्त्री शंकर पोख्रेलले माघीलाई सद्भावको पर्व बनाउनुपर्ने बताउनुभएको छ । बिहीबारदेखि दाङको घोराहीमा सुरु भएको प्रदेशस्तरिय माघी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘माघी थारु र मगर समुदायको मात्रै नभई सम्पूर्ण नेपालीहरुको पर्व हो । यसलाई समाजमा सद्भाव कायम गर्ने पर्वका रुपमा मनाउनुपर्दछ ।’
प्रदेश ५ बहुसांस्कतिक पहिचान बोकेको प्रदेश भएको भन्दै मुख्यमन्त्री पोख्रेलले सबै समुदायको सहयोगमा मात्रै उत्कृष्ठ प्रदेश बनाउन सकिने बताउनुभयो । ‘प्रदेश ५ बहुसांस्कतिक पहिचान बोकेको प्रदेश हो । यहाँ मगर, थारु, अवधी, खसआर्यलगायतको संस्कृति पाइन्छ । सबै संस्कृतिको जगेर्ना गरी यो प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउन सकिन्छ’, मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘यसका लागि प्रदेश सरकारले विशेष योजना बनाएको छ । प्रदेश सरकारको योजनालाई सफल बनाउन सबै लाग्नुपर्दछ ।’
प्रदेश ५ को बहुसंख्यक जनताहरु थारु र मगर समुदायको रहेको स्मरण गर्दै मुख्यमन्त्री पोख्रेलले यी दुवै समुदायले आफूहरुलाई आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले समृद्ध प्रदेश सुखी जनता कार्यक्रम लागु गरेको बताउँदै मुख्यमन्त्री पोख्रेलले अत्यन्तै मिहिनेती थारु र मगर समुदायको जीवनस्तर माथि नउकास्दासम्म प्रदेश सरकारको कार्यक्रम सफल नहुने हुँदा दुवै जातिले आफूलाई आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो ।
आगामी १० वर्षभित्र प्रदेश ५ का जनताहरुको प्रतिव्यक्ति आय रु १ हजार १२ अमेरिकी डलर पु¥याउने लक्ष्यका साथ प्रदेश सरकार लागिपरेको भन्दै मुख्यमन्त्री पोख्रेललेयसका लागि पनि तराईको थारु समुदाय र पहाडको मगर समुदायले आफ्नो परम्परागत खेती प्रणालीलाई आधुनिकीरण गर्नुपर्ने बताउनुभयो । ‘प्रदेश ५ ले आगामी १० वर्षभित्र यस प्रदेशका जनताको प्रतिव्यक्ति आय १ हजार १२ अमेरिकी डलर पु¥याउने महत्वपूर्ण योजना अगाडि सारेका छौं । यो अभियानलाई सफल बनाउन प्रदेशका सबै समुदायको जीवनस्तर माथि उठ्नु जरुरी छ’, मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘प्रदेशको तराईमा बस्ने थारु र पहाडमा बस्ने मगर समुदायले आफ्नो पेशालाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ ।’
प्रदेश ५ सरकारले पछाडि पारिएका समुदायको स्तरोन्नतिका लागि विशेष योजना अगाडि बढाएको भन्दै मुख्यमन्त्री पोख्रेलले १२ वटै प्रदेशमा मुख्यमन्त्री विकास कार्यक्रम अगाडि बढाएको बताउनुभयो । थारु कल्याण कारिणी सभा दाङको आयोजनामा सुरु भएको माघी महोत्सवमा पश्चिम नेपालका ६ जिल्लाका थारु संस्कृति प्रस्तुत हुने कार्यक्रम रहेको छ । कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ ।
