माघी बिदा १ दिन हुँदा सुदूरपश्चिमका थारु सांसद रुष्ट/मन्त्री विनिता चौधरीको भूमिकामाथि आशंका

Friday, 11 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लखन चाैधरी,,धनगढी := माघी पर्वमा १ दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेश सरकारको निर्णयको विरोध हुन थालेको छ ।आदिवासी जनजाति थारु, मगर लगायतका समुदायले विशेष महत्त्वका साथ मनाइने पर्ववारे गहन रुपमा अध्ययन नै नगरी १ दिन मात्रै बिदा दिने निर्णय गरेको भन्दै विरोध हुन थालेको हो ।

थारु समुदायमा पुस अन्तिम दिनदेखि माघ ३ गतेसम्म नयाँ वर्षको रुपमा मनाइने गरेको थारु बुद्धिजीवी बताउँछन् । तथापि कम्तिमा पनि २ दिनसम्म सार्वजनिक बिदाको माग गरेपनि बेवास्ता भएको उनीहरूको भनाई छ ।प्रदेश सरकारले २ दिन बिदा नदिएपछि सर्वसाधारण र अधिकारवादी संघ, संगठन मात्रै होइनन्, सुदूरपश्चिमका प्रदेश सांसदले समेत असन्तुष्टि जनाएका छन् । २ दिने बिदाको माग राख्दै पटक–पटक सरकारका मन्त्री, सभामुख, मुख्यमन्त्री लगायत शीर्ष नेताको ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको भन्दै आपत्ति जनाएका छन् ।

नेकपाकी सांसद चुनकुमारी चौधरीले आफूले सभामुख अर्जुन थापा, कानूनीमन्त्री प्रकाश शाह लगायतलाई भेटेर बिदाबारे ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको भन्दै आक्रोश व्यक्त गरिन् । सघन थारु बसोबास भएको क्षेत्रपनि प्रदेश सरकारले जनभावनाको कदर गर्न नसकेको बताउँदै उनले १ दिने बिदा दिएर सरकारले सांस्कृतिक अधिकारमाथि खेलाँची गरेको टिप्पणी समेत गरिन् ।नेकपाकै प्रदेश सांसद वीरमान चौधरी, नेपालु चौधरीको भनाई पनि चुन कुमारीको जस्तै छ । कानून मन्त्रीलाई भेटेरै बिदावारे कुरा गरेको बताउने सांसद वीरमान चौधरीले प्रदेश सरकार संविधान प्रदत्त सांस्कृतिक अधिकारलाई समेत कुण्ठित गर्न उद्दत भएको बताए । 

सरकारले अनावश्यक बिदा थप्ने तर बहुसंख्याक समुदायले मनाउने पर्वमा बिदा दिदाँ कुन्जुस्याइँ गरेकाले निर्णय नसच्चाए सरकारविरुद्ध कदम चालिने समेत उनीहरूको चेतावनी छ । नेपाली कांग्रेसका सांसद श्यामलाल रानाले प्रदेश सरकारले बिना अध्ययन बिदा दिइरहेको आरोप लगाए । पर्वको महत्त्व र गम्भीरतामाथि सरकारले नजरअन्दाज गरिरहेको बताउँदै उनले ३–४ दिनसम्म मनाइने माघीमा कम्तिमा २ दिन बिदा दिनुपर्ने विचार व्यक्त गरे ।

राष्ट्रिय जनता पार्टीका सांसद द्वय मालामति राना र कृष्णबहादुर चौधरीले सरकारले बिदा दिँदा जहिल्यै पनि  विभेद गर्दै आएको बताएका छन् । विगतका दिनमा केन्द्र सरकारले उपेक्षा गरेको बताउँदै उनीहरूले हाल प्रदेश सरकार समेत सोही विभेदलाई निरन्तरता दिएका आरोप लगाएका छन् ।थारु अगुवाले प्रदेश सरकारकी एक मात्रै थारु समुदायबाट सहभागी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको भूमिकामाथि समेत टिप्पणी गर्न थालेका छन् । थारु नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीले मन्त्री चौधरीले समुदायप्रति उत्तरदायित्व निर्वाहबाट पटक–पटक चुक्दै आएको बताए ।

संयोजक चौधरीले भने, ‘हामीले मन्त्री ज्यूलाई न त अप्ठ्यारोमा पार्न खोजेका छौ । न त हामीले नाजायज माग नै राखेका छौ । तर उहाँले कुनै पनि सवालमा अडान लिन सक्नुभएको छैन । उहाँको भूमिका सन्तुष्टिजनक छैन ।’तर मन्त्री विनिता चौधरीले आफू प्रदेशकै मन्त्री भएकाले सबैप्रतिको भूमिका निर्वाह गरेको दाबी गरेकी छिन् । मन्त्री चौधरीले भनिन्, ‘हामीले सबै बिदा मिलाउनुपर्ने हुन्छ । यो वर्षलाई १ दिन बिदा दिएपनि आउँदो वर्षमा बिदामा हेरफेर हुन्छ ।’

थारु कल्याणकारिणीसभा कैलाली र थारु नागरिक समाज कैलालीले बिहीवार नै संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको निर्णयको विरोध जनाएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu