रन्जन चौधरी,,
पर्सा:= जंगली हात्तीले पर्साको ठोरी गाउँपालिकामा तीन घर भत्काएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरीमा वर्षेनी हात्तीबाट स्थानीय त्रसित बन्ने गरेका छन् ।
गयराति वडा नं १ मा आएको जंगली हात्तीले ३ वटा घरमा क्षति पुर्याएको छ । राति ११ बजे बस्तीमा पसेको जंगली हात्तीले स्थानीय होमनाथ अधिकारी, चन्द्रबहादुर सुनारी र लालकाजी गुरुङको घरमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
हात्तीले घरमा रहेको चामल, पिठो र अन्य खाद्यान्न सामाग्रीहरु खाएर र छरेर नष्ट गरिदिएको पीडितहरुले बताएका छन् । हात्तीले ती घरहरुमा अन्दाजी १ लाख २० हजार रुपैयाँ बराबरको क्षति पुर्याएको अनुमान गरिएको छ ।