थारु समुदायको आफ्नै " डसिया " दशैँँ ।

Thursday, 3 October 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
(लेखक:- छविलाल कोपिला)
अहिले प्रकृति पूजक थारू समुदायमा ‘डसिया’ र नेपालीहरुको महान् चाड विजयादशमी अर्थात दशैं पनि घर आँगनमा आइपुगेको छ । उसो त समय क्रमसँगै डसिया र दशैं एउटै हो भन्ने मानसिकता पनि हाम्रो समाजमा छ । तर, यो सही होइन । यो पर्व लगभग उही तिथि उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वभाविक पनि हो । तर यसका सामाजिक मूल्य मान्यता, विधि प्रक्रिया र यससँग जोडिएको मिथक हे¥यौं भने भिन्न, भिन्नै रहेका छन् । थारू समुदायमा डसिया खास गरी आफ्नो पूर्खाहरुको मृत–आत्माले शान्ति पाओस् भनी पूर्खाहरुको सम्झनामा मनाइन्छ । देउता नुहाउने काम थारू समुदायमा मर्नि–कर्नि (मृत्यु संस्कार) मा छूट मान्ने चलन अनुसार डसियामा पनि पूर्खाहरुको मृत्युको कारण छूट मानिने भएकोले देउता नुहाउने काम हुन्छ । छिनोनी पानी (धातुपानी अथवा सुनपानी) छर्केर चोखो पार्ने । काज–क्रियामा जिटा मार्ने चलन अनुसार जिटा पुज्ने । देउता अनुसार जल, रक्सीको छाँकी चढाउने, पिट्टर (पिण्ड) दिने । भित्तामा बकुल्ला बनाउने । मृत–आत्माले शान्ति पाओस् र यिनै बकुल्ला माथि चढेर सवार गरी सुखै–सुख स्वर्ग जाऊन् भनी बकुल्ला बनाउने चलन छ । देउता पठाएको भन्ने चलन पनि छ । गुर्वाहरुको वर्षभरिको सेवा र सम्मानको लागि घरगुर्वालाई टीका लगाउने चलनबाट पनि पुष्टि हुन्छ कि थारू आफ्नो पूर्खाहरुको सम्झनामा अथवा शोकमा डसिया मनाउँछन् भने हिन्दु धर्मावलम्बीहरुले देवता र दानवहरु बीचको लडाईमा देवताहरुले विजय प्राप्त गरेको हुनाले बिजय उल्लासको साथ मान्यजनहरुबाट रातो टीका लगाउने र दुर्गाको पूजा गरी मनाउँछन् । तर, थारू समुदायमा कुनै पनि घरमा न दुर्गा, न रामको पूजा हुन्छ । किनकी दुर्गा र राम थारूहरुको मौलिक देउता होइनन् । थारू आफ्नो मौलिक देउताहरु खेंखरी–मैयाँ, सौंरा, लागुबासु, धमराज, चुरिनियाँ, भेंर्वा, पुर्वी लगायतका देउताहरुलाई जल, रक्सी, जमरा र बाबरी चढाएर परम्परागत मान्यता अनुसार पूजा गर्छन् । थारूहरुको आफ्नो मौलिक देउता छन् र आफ्नो मौलिक परम्परा अनुसार पूजापाठ पनि गर्छन् । तर हिन्दुहरुको देवतालाई सम्मान गर्ने र भाइचाराको सम्बन्ध राख्ने पनि थारूहरुको स्वभाव हो । जुन सह्रानीय कुरा हो ।
( लेखकः छविलाल कोपिला ) 
थारू समुदायमा डसिया असोज महिनामा पर्छ । तर कहिंले काहीं कात्तिक महिनामा पनि पर्छ । असोज औंसीको दोस्रो दिन डुटिया (चन्द्रमा) हेरेर तेस्रो दिन जमरा राखी डसियाको शुभारम्भ हुन्छ । जमरा कोरा मल्सी (प्रयोग न गरिएइको माटोको भाँडा)मा राख्ने चलन छ । जुन मकैको जमरा हुन्छ । मल्सी नभए डेहुरारको पाटा माथि भुईमा पनि राख्ने चलन छ । यो अँध्यारो कोठामा राखिन्छ । अँध्यारो कोठामा राखिने हुनाले हरियो नभई यो पहेंलो हुन्छ । डसियामा जमरा र बाबरी मात्रै चढाइन्छ । अन्य फूल चढाउने चलन छैन । उसो त थारू समुदायमा कुनै पनि पूजामा फूल चढाउने चलन छैन । जुन थारू जातिको अलग विशेषता हो । पञ्चमीको दिन दहित थरका थारूहरुले श्राद्ध पूज्छन् । श्राद्ध पूज्नको लागि उनीहरुले सबै चिज चोरेर पुज्छन् । श्राद्धको दिन उनीहरुलाई तरकारी, केरा, माछा चोर्न मिल्ने हुन्छ । त्यो दिन चोरी गर्न छुट हुन्छ । चोर समातिए पनि जरिवाना आममाफी दिने नियम हुन्छ । समय क्रमसँगै केही सामाजिक नियमहरू फेरिएका छन् । पूजाको नाममा भारीका भारी तरकारी, केरा चोरी हुन थालेपछि अबको जमानामा चोरी माफी दिने कुरा पनि रहेन । त्यसकारण आजभोलि पूजाको लागि माँगेर काम चलाउने दिन पनि आइसक्यो । डसियामा ‘बानढुप’ पनि चढाइन्छ । बानढूप भनेको गुर्वाहरुले आफ्नो जिब्रो, छाती र गोडा (जाँघ) को रगत र धान लगायत सात किसिमको फूला लोर्हके (फूल टिपेर) बनाएको विशेष धूप हो । जुन डसियामा मात्रै आफ्नो देउतालाई चढाइन्छ । यो बानढुप पनि धेरै जसो थारूहरु दहित थर भएकाहरुकै चलाउँछन् । अन्य थरको गुर्वाहरुले पनि चलाउँछन् । तर अब बानढुपको नाउँमा बजारको अगरबत्ती सल्काउने चलन पनि आइसकेको छ ।
सप्तमीको दिन देउता भएको घरका मान्छेहरु ‘पैनसटोपि’ धुन्छन् । पैनसटोपि ढिक्रि उसिन्ने ढकियालाई भनिन्छ । जुन त्यस दिन अनिवार्य रुपमा धुने चलन छ । धुने काम घरको गढुनियाँ (घरमूली महिला) ले गर्छिन् अथवा उनले अह्राएको मान्छेले गर्छन् । दोश्रो दिन अथवा अष्टमीको दिन देउता पूज्ने घरको गढुर्या–गढुनियाँ (घरमूली महिला–पुरुष) लाई दिनभरि भोकै बस्नु पर्छ । साँझ डेहुरार रहेका र बाहिर रहेका सबै देउताहरुलाई नुहाएर छिनोनि पानी छर्केर नयाँ दियो बाल्छन् र गोलो ढिक्रि, बाबरी, जमरा, रक्सी (टौला र बजारि) र जल चढाएर पूजा गर्छन् । देउता भएको घरका मान्छेले भेंडाको प्रतीकको रुपमा कुपिण्डोको भेंडा बनाएर त्यसकै पूजा गर्छन् । त्यसै गरी गोठमा ढमराज, पूर्वको आँगनमा ‘पूर्वी’ लगायत अन्य देउताहरुलाई पनि पूज्दछन् । पूजा गर्नेबेला बानढुप पनि चढाउँछन् र सिन्दुर र कजरा (खरानी)को टीका पनि लगाउँछन् । पूजा गर्नेबेला मादल बजाई ट्रासन बजाएर गर्छन् । यसरी पूजा गरी दिनभरि भोकै बसेका गढुर्या–गढुनियाँ भोजन ग्रहण गर्छन् । आजको रात रातभरि देउता जगाउँछन् । देउता जगाउनुलाई दियो जगाउने पनि भनिन्छ । रातभरि जाग्नु पर्ने हुनाले नाचगान पनि गर्छन् । नाचगान नभए बर्किमार गाएर रात काट्छन् । देउता जगाउनेहरुलाई डेहुरारको पाटा माथिको रक्सी पिउन मिल्छ । पाटामा राखिएको रक्सीलाई भेंर्वाको रक्सी पनि भनिन्छ । बिहान नवमीको दिन गढुरियाँ नुहाएर फेरि सबै देउताहरुलाई हिजोको जस्तै जमरा–बाबरी चढाएर कुखुरा पुज्छ । पूज्नु भन्दा पहिले पाटा माथिको बर्हनि (झारु) हटाएर नयाँ बर्हनि राख्छ । जुन एक वर्ष पछि दोश्रो डसियासम्मको लागि मात्रै राखिन्छ र दोश्रो डसियामा पनि त्यो बर्हनि साँटिन्छ । देउता नभएको मानिसले एक अथवा तीनवटा आफ्नो चलन अनुसार कुखुरा पूज्दछन् भने देउता भएका घरका मानिसले सातदेखि पन्ध्रवटासम्म कुखुरा र डिँवा (समयावधि) अनुसार भेंडा, बाख्रा, सुँगुर पुज्दछन् । बलीसँगै जमरा, बाबरी, रक्सी, बानढुप चढाएर देउताहरुलाई सेतो टीका लगाउँछन् । बली सबै देउताहरुलाई चढाइन्न । देउता हेरेर दूध, पानी, रक्सी, जाँड पुज्ने चलन छ । ‘जँडछब्बा’ थारू आफ्नो ‘नक्छेडिया’ देउतालाई जाँड चढाउँछन् । जाँड चढाउने चलन अन्य थरका थारूहरुमा छैन । पूजामा सबै गोत्र–थरका थारूहरुमा केही भिन्नता पाइन्छ । यो प्रत्येक गोत्र–थरका थारूहरूको देउता फरक–फरक भएको कारणले यस्तो भएको हो । डेहुरार ‘पिट्टर’ दिने चलन पनि छ । पिट्टर दिँदा पुस्तान्तर अनुसारको खानेकुरा राख्ने चलन छ । जस्तै सात पुस्ताका पुस्ताको पितृहरुलाई सम्झिँदा सात वटा टपरीमा खाने कुरा राख्छन् भने हो पाँच पुस्ताको पितृलाई पाँच टपरीमा अथवा जति पुस्ताका पितृहरुले सम्झिने हो त्यही अनुसार खानेकुरा दिने चलन । यो पनि थारू परम्परा अनुसार गरिने प्रकृया हो । पूजा सकिएपछि महिलाहरु नदी घाट, कुलामा पिट्टर सेलाउन जान्छन् । पिट्टर सेलाउन जाँदा करैमा छाँकि, समूह–समूहमा महिलाहरु ढकियामा डेहुरार राखिएको पूरानो बर्हनि, पूजा गरेको जमरा, बाबरी, कुपिण्डोको भेंडा लगायत जुन–जुन ठाउँ पूजा गर्छन् त्यहाँ सफा गर्दा निस्किएको फोहर लिएर जान्छन् । साथै खानपिनको लागि छाँकि र तरकारी पनि लिएर गएका हुन्छन् । सेलाई सकेपछि सबैजना मिलेर आफूसंग लिएर आएको छाँकि सबै मिली खान्छन् र मनोरञ्जन पनि गर्छन् । घाटमै अलिअलि नाचगान पनि गर्छन् । डसिया मनाउन आएका अरु पाहुनाहरुलाई सँधै खुवाउने पिलाउने महिलाहरु आजको दिन भने स्वतन्त्रपूर्वक रमाइलो गर्छन् । यता पुरुषहरु घर गुर्वा, डेसबँढिया गुर्वालाई टीका लगाउन जान्छन् । करैमा छाँकि, जमरा, बाबरी लिएर आफ्नो गुर्वाको घर जान्छन् । टीका लगाउन जानेहरु केही मनोरञ्जन पनि गर्छन् । आफ्नो इच्छा अनुसार सबैजना मिलेर मासु, रक्सी ल्याउँछन् र रीति अनुसार गुर्वालाई दक्षिणा दिन्छन् । जब गुर्वाले आफ्नो डेहुरार पूजा पाठ गरी सक्छ अनि टीका लगाउने काम शुरु हुन्छ । टीका सेतो पीठो अथवा चामलको हुन्छ । सबैजना टीका लगाई खानपिनमा लाग्छन् । केही समयपछि सबैको देउता मिलाउनको लागि गुर्वाले आफ्नो प्रक्रिया पूरा गर्छ र गुर्वा मान्छेहरु गुर्वा खेल्छन् । गुर्वाहरुमा जब देउता चढ्छ तब काँप्दै डेहुरार, बहरी र आँगनमा अखरिया खेल्छन् । अखरिया खेल्नु भनेको मादलको तालमा लठ्ठी लिएर काम्दै नाँच्नु हो । आजको दिनलाई नयाँ गुर्वा बन्ने–बनाउने दिनको रुपमा पनि लिइन्छ । सुस्वाइबेर (गुर्वा खेल्ने बेला) पच्रा गाउँछन् । जुन यस प्रकार छ : ‘हेरि लेओ रि मैया हेरि लेओ रि,
आपन घरडुवार हेरि लेओ रि ।’
गाउँमा सामुहिक टीका लगाउने चलन पनि छ । यसलाई ‘राजा–टीका’ पनि भनिन्छ । गाउँको महटवा अथवा ककन्डरवाले भुइँह्यारथानमा टीका लगाई सकेपछि गाउँको टीका खुल्छ । गाउँभरी घर–घर आफ्नो मान्यजनहरुको हातबाट टीका लगाउँछन् र आशिर्वाद लिन्छन् । यो टीका सेतो पीठोको हुन्छ । सेतो टीका शोकको टीका हो । यसलाई शान्तिको प्रतिक रुपमा पनि लिइन्छ । टीका लगाइसकेपछि गाउँका बठिनियाँहरु (तरुनी केटीहरु) ले नाचगान गर्छन् । गाउँभरि घर–घर गई नाचगान गर्छन् जसलाई ढुर झर्ना भनिन्छ । बठिनियाँहरु बर्का नाच, सखिया, पैंया नाच नाच्छन् । नाच गाउँको मुखियाको घरबाट शुरु हुन्छ र गाउँभरि नाचिन्छ । सखिया नाच मादलको तालमा मजुराले नाच्ने नाच हो । यो नाचमा गीत पनि गाइन्छ तर गीत गौण हुन्छ । कहिंले गोलाकार त कहिंले पंक्तिबद्ध भई नाचिने यो नाच हात खुट्टाको ताल मिलाएर शरीरलाई लचिलो पारी मंजुरा बजाइन्छ । जस्तै : ‘सखि रे ! लेउ लेउ इसरु रे
आपन भाट भटौरा,
सखि रे ! जाओ रे इसरु हरवा उहारे’ यसरी युवतीहरु ठरपैंया (बिशेष ताल)मा चाँच्छन् । पैयाँ पनि मादलको तालकै प्रधानता हुन्छ । यो पनि मजिराले नाच्छन् । ठरपैयाँ लगाउने बेला गाउने गीत यस किसिमको छ : ‘उरि उरि भौरा टिकुलि पर बैठे रे हाँ,
ए हो भौँरक छुवल मोर टिकुलि मलिन हो ।’ भने गाउँका झरालीहरु पनि झुमरा, हुर्डुङ्वा, छोक्रा लगायतका नाच नाचेर मनोरञ्जन गर्ने गर्छन् । अहिले त धेरैजसो ठाउँमा मञ्च कार्यक्रम गरेर सामुहिक डसिया मनाउने चलन पनि आइसकेको छ । आजको दिन साँझ नयाँ बिहे गरेका दुलहाहरुले आफ्नो ससुराली टीका थाप्न जाने छुट्टै चलन पनि छ । टीका थाप्न जाँदा एउटा भाले कुखुरा, मचिया (सुटलीले बुनेर बनाइएको मुडा जस्तै चार खुट्टे बस्ने साधन), हाते पंखा लिएर जान्छन् । मचिया रातो, हरियो रंगले रंगाइएको डोरीले बुनेको हुन्छ भने हाते पंखा सिरिसको डाँठ धागोेले बुनेको अथवा सिरिस नभए बाँसले बुनेको हाते पञ्खा लिएर जान्छन् । बेनामा चाँरैतिरबाट कपडाले बेरेर हुन्छ र मयूरको प्वाँख लगाएर सुन्दर बनाइन्छ । टीका थाप्न दुलहाहरु एक्लै जाँदैनन्, सँगै एक जना साथी भरिया पनि लिएर जान्छन् । भरिया भारी बोकेर जान्छ भने दुलहा चाहिं खाली जान्छन् । भरियाको काम भारी बोक्ने मात्रै हुँदैन । दुलहाको सुरक्षाको लागि पनि गएका हुन्छ । घरबाट निस्किने बेला साजल चाउर (साजेको अछेता) खल्ती अथवा लुगाको एउटा कुनामा बेरेर राख्छन् । टीका थाप्न जाँदा भूत–बोक्सी अथवा नजर लाग्छ भनेर त्यसो गरिएको हो ।  त्यसकारण दुलहा जहाँ–जहाँ जान्छ भरिया पनि सँगै जान्छ । दुलहालाई गाउँका बठिनियाँहरुले स्वागत गर्छन् । दुलहा पुग्नु अगावै फूल र माला उनेर तयार हुन्छन् र पुग्ने बित्तिकै फूलमाला पहिराई स्वागत गर्छन् । दुलहाले पनि उनीहरुलाइृ दक्षिणा स्वरुप केही पैसा अथवा चुरोट, बिडी चलन थियो । ससुरालीमा मानसम्मान त हुने नै भयो । टीका थाप्न गएको बेला मासुमा कुखुराको फिलौंडा (सफेटा, लेग पिस) विशेष हुन्छ । पहिले पहिले नयाँ दुलहाहरु लाज सरम मान्थे । उसलाई दिएको फिलौंडा खायो कि नाई भनेर खुबै ख्याल पनि हुन्थ्यो । स्वागतमा आएकाहरूले डेहरिको चिराबाट, चचरा माथिबाट चियाउँथे । धेरैजसो दुलहाहरु नयाँ–नयाँमा ससुराली गएकोले लाजका कारण फिलौंडा खान सक्दैनथे । आजभोलि त्यस्तो अवस्था छैन । टीका थाप्दा ससुरालीबाट केही रकम अथवा कुनै उपहार दिएर बिदाई गरिन्छ । टीका ससुरालीमा मात्रै लाउँदैनन् । सके दुलहीको मामा घर, दिदी–बहिनीको घर, ठूलाबुवा, काका, फुपूहरुको घर पनि लगाउने चलन छ । तर आजभोलि यो चलन पनि हराउँदै गएको छ ।
दुलहा टीका थाप्न गए जस्तै दुलहीहरु पहुनी जाने चलन थियो, अहिले यो लगभग हराइसकेको छ । बिहे भएको १ वर्ष गोंरि बुन्ने भनेर नयाँ दुलहीलाई छुट्टी दिइएको हुन्छ । छुट्टीको समयमा आफ्नो माइतीमा बसेर गोंरी बुन्नलाई । यसरी छुट्टी पाएको अवधिभरि उनीहरु पाहुनीको रुपमा बसेका हुन्छन् । यिनीहरु डसिया, डेवारीमा मामा, फुपू, दिदीहरुको घर पहुनी खान जान्छन् । पहुनी खान ढिक्रीको पहुरा (कोसेली) लिएर जान्छन् । त्यहाँबाट पनि उनीहरुलाई आफूले सकेको उपहार दिने चलन छ । यसरी पहुनी खाएर उनीहरु मंसिरमा आफ्नो घर (दुलहाको घर) आउँछन्। यसरी डसियासँग थारू समुदायको धेरै चिज जोडिएको छ । तर समय परिवर्तनसँगै थारूहरुले आफ्नो मौलिक संस्कृतिहरु छोड्दै गएका छन् भने बाह्यसंस्कृतिप्रति आकर्षित पनि हुँदै गएकाछन् । समय अनुसार परिवर्तन हुने कुरा ठीकै हो तर आफ्ना संस्कृतिहरुका मौलिकता बिर्सिएर अरुको कला, संस्कृतिप्रति आकर्षित हुनु राम्रो कुरा होइन । त्यसकारण आफ्नो कला, संस्कृति जोगाउनको लागि सबैजना लाग्नै पर्छ ।
Share this article :
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu